क्रिकेट

२०१६ को हारले पाठ सिकेको इंग्ल्यान्ड, अस्तव्यस्त वेस्ट इन्डिज

इकागज |
कात्तिक ७, २०७८ आइतबार १३:५८ बजे

काठमाडौँ- सन् २०१६ को आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनलमा भिडेका थिए, इंग्ल्यान्ड र वेस्ट इन्डिज । कोलकत्ताको एडेन गार्डेन्समा भएको फाइनलमा इंग्ल्यान्ड स्तब्ध बन्यो । यी दुई टिम साढे पाँच वर्षपछि छोटो ढाँचाको विश्वकपमा फेरि भिडे । यसपाली जित्यो, इंग्ल्यान्डले । भलै यो समूह चरणको खेल थियो, जितले इंग्लिस खेलाडीहरूलाई राहत दिएको छ । 

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा वेस्ट इन्डिजसँग भिड्नुअघि इंग्ल्यान्डका इयोन मोर्गानले भनेका थिए, ‘कोलकत्तामा भागेको त्यो हार बिर्सन मलाई ६ महिना लागेको थियो,’ अनि त्यो हारले आफ्नो टिमलाई पाठ सिकाएको पनि मोर्गानको भनाइ थियो । मोर्गानको भनाइमा सत्यता देखियो । उनको कप्तानीमा रहेको इंग्लिस टिमले वेस्ट इन्डिजलाई ५५ रनमै सीमित गर्‍यो । 


विश्वकपको नयाँ यात्रा सुरु गर्दैगर्दा इंग्ल्यान्ड पहिलेभन्दा अनुभवी देखिएको छ । पछिल्ला चार वर्षमा इंग्लिस टिमले टी–ट्वान्टीमा मात्र होइन एक दिवशीयमा पनि बलियो खेल देखाएको छ । इंग्लिस टिम आफ्नो योजनामा स्पष्ट पनि देखिन्छ । र, यो टिममा पर्याप्त खेलाडीहरू छन् जसले टिमको जिम्मेवारी उठाउन सक्छन् । जोफ्रा आर्चर, बेन स्टोक्स र साम कुरानलगायतका अनुभवी खेलाडी नभए पनि इंग्ल्यान्डले प्रभावशाली प्रदर्शन गर्न सकेको छ । 

यसकै उदाहरण हो, वेस्ट इन्डिजविरुद्ध देखाएको खेल कौशल । वेस्ट इन्डिजसँगको खेलमा मोइन अली, क्रिस वोक्स र टिमाल मिल्सले पाँच विकेट लिए । आज भन्दा ६ महिनाअघि सायदै कसैले अनुमान गरेको थियो, वोक्स र मिल्सले विश्वकपका लागि इंग्लिस टिममा स्थान पक्का गर्नेछन् भनेर । उता मोइनले पनि भारत भ्रमणमा एकै खेल पनि खेल्न पाएनन् । त्यसयता पनि उनले खासै बलिङ गर्न पाएका थिएनन् । शनिबार भने यी खेलाडीले मौका पाए र धारिलो बलिङ पनि गरे ।

यस्तो लाग्छ यो इंग्लिस टिम पाएको मौकामा प्रभावशाली खेल देखाउन सक्ने ल्याकत राख्छ । वेस्ट इन्डिजविरुद्धको खेलमा इंग्लिस टिमले यही मानसिकता देखायो । सुरुवातमै तीन विकेट लिएपछि पनि इंग्ल्यान्डले आफ्नो आक्रामकता त्यागेन । मोर्गानले मिल्सलाई बलिङमा ल्याए, जसले क्रिस गेल र निकोलस पुरनको विकेट लिए । मोइनले पनि लगातार बलिङ गरिरहे । त्यो पनि वेस्ट इन्डिजका बाँयाहाते ब्याटरहरूविरुद्ध ।   

इंग्ल्यान्डका लागि सबैभन्दा सफल बलर भने आदिल रशिद सावित भए । ११ औँ ओभरपछि मात्रै बलिङ गर्न आएका रशिदले १४ बलमा चार वेस्ट इन्डिजको चार विकेट झारे । वेस्ट इन्डिज खराब अवस्थामा प्रवेश गरिसकेको अवस्थामा रसिद बलिङका लागि आएका थिए । रशिदका अगाडि वेस्ट इन्डिजको तल्लोक्रमले घुँडा टेकेको थियो । 

सन् २०१६ मा टी–ट्वान्टी विश्वकप जितेपछि वेस्ट इन्डिजले आफूलाई उही लयमा राख्न नसकिरहेको प्रमाणित भएको छ । आवश्यकता अनुसारको अल–राउन्ड प्रदर्शन गर्न वेस्ट इन्डिज शनिबार चुक्यो । वेस्ट इन्डिजलाई कमजोर टिम भन्‍ने अवस्था नआइहालेको भएपनि इंग्ल्यान्डविरुद्ध उसका ब्याटरहरूले गरेको प्रदर्शनले भने प्रश्न चिन्ह खडा गरेको छ ।

वेस्ट इन्डिजले उही पुरानै शैली र योजनामा खेल्न खोजिरहेको देखिएको छ । विशेषगरी उसको ब्याटिङ सन् २०१६ कै धंगधंगीमा छ । ब्याटरहरूको प्राथमिकतामा चौका र छक्का मात्रै छ । यस किसिमको योजनाले सधैँ सफलता दिलाउँछ भन्ने छैन । फेरि यो खतरापूर्ण शैली पनि हो । जब यो योजनालाई विपक्षी टिमले असफल बनाइदिन्छन्, तब कुनैपनि टिमको हालत शनिबारको वेस्ट इन्डिजको जस्तै हुन्छ । 

खेलपछि किरोन पोलार्डले आफ्ना ब्याटरहरूले टिक्न नसकेको स्वभाविक प्रतिक्रिया दिए । उनले आफ्नो टिमले परिस्थिती अनुसारको लचकता देखाउन नसकेको पनि बताए । ‘यो हारको व्याख्या गर्न मसँग कुनै शब्द छैन । मलाई लाग्छ हामी कुनै पनि विभागमा सशत्त थिएनौँ । ५५ रनमा आउट हुनु लज्जास्पद हो । हामी सबै खेलाडी यो हारको जिम्मेवारी लिन्छौँ र बाँकी खेलमा गतिलो प्रदर्शन गर्ने प्रण गछौँ,’ पोलार्डले भने । 

हारका कारण वेस्ट इन्डिज पीडामा रहँदा इंग्ल्यान्ड भने सुखद सुरुवात गर्न सकेकोमा उत्साहित छ । उपाधिका लागि भिड्ने ल्याकत राख्ने टिमलाई हराउँदा इंग्ल्यान्डको आत्मविश्वास बढेको छ । अनि ठूलो रनरेट हासिल गरेकामा इंग्लिस खेलाडीहरू रमाइरहेको हुनुपर्छ । सायद यो स्वभाविक पनि हो । किनभने इंग्ल्यान्ड रहेको समूह एक ज्यादै कठिन छ । यसकारण जितसहितको सुरुवात इंग्ल्यान्डका लागि आवश्यक थियो । क्रिकबजबाट  


Author

थप समाचार
x