क्रिकेट

टी–ट्‍वान्टी विश्‍वकपलाई जीवन्त बनाउने खेलमा भारत र पाकिस्तानको प्रतिस्पर्धा

इकागज |
कात्तिक ७, २०७८ आइतवार १६:१ बजे

काठमाडौँ- आईसीसी टी–ट्‍वान्टी विश्‍वकपको पहिलो संस्करणको विजेता हो, भारत । जोहानेसबर्गमा भएको उपाधि भिडन्तमा भारतले प्रतिद्वन्द्वी पाकिस्तानलाई पन्छाएको थियो । संयोगवश दोस्रो संस्करण भने पाकिस्तानले जित्यो । सन् २००९ को संस्करणको फाइनलमा पाकिस्तान दक्षिण एसियाकै अर्को टिम श्रीलंकालाई हराउँदै च्याम्पियन बनेको थियो । 

टी–ट्‍वान्टी विश्‍वकपका सुरुवाती दुई संस्करण जितेका भारत र पाकिस्तान यसपालीको विश्‍वकपमा पनि आमनेसामने हुँदैछन् । त्यो पनि सुरुवाती चरणमै । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा आइतबार साँझ यी दुई चिरपरिचित प्रतिद्वन्द्वी भिड्न लागेका हुन् । शनिबारबाट सुरु सुपर १२ को चौथो खेलमा यी दुई टिमको भेट हुन लागेको हो । 


क्रिकेट यसैपनि दक्षिण एसियामा असाध्यै लोकप्रिय छ । भारत र पाकिस्तानमा क्रिकेटलाई अन्य खेलले पछाडि धकेल्न सक्ने अवस्था छैन । जब यी दुई टिम आपसमा प्रतिस्पर्धा गर्छन्, क्रिकेट खासै नहेरिने देशमा समेत यो खेलको चर्चा हुने गर्छ । यो खेलअघि भारत र पाकिस्तानका कप्तानद्वय विराट कोहली र बाबर आजमले एकै स्वरमा भनेका छन्, ‘यो त बस् अन्य खेल जस्तै सामान्य मुकाबिला हो,’ तर यी कप्तानहरूसँग उनीहरूका देशका क्रिकेट प्रेमी सहमत हुने छैनन् । 

भारत र पाकिस्तानको प्रतिद्वन्द्वीता क्रिकेटमा मात्र सीमित छैन । राजनीतिकरूपमा पनि यी दुई टिम फरक कित्तामा छन् । आणविक शत्ति मानिने यी दुई छिमेकी तीन पटक त युद्धमै गइसकेका छन् । दुई सरकारबीच सम्बन्ध चिसो छ । यही कारण भारतीय र पाकिस्तानी क्रिकेट टिम एक आपसको भूमिमा पुगेर क्रिकेट खेल्ने अवस्था छैन । भारतले पछिल्लो पटक पाकिस्तानलाई आफ्नो भूमिमा स्वागत गरेको सन् २०१३ मा मात्रै हो । त्यसयता यी दुई टिमको भेट आईसीसीले आयोजना गर्ने प्रतियोगितामा मात्रै हुन्छ । सन् २०१९ को ओडीआई विश्‍वकपमा यी दुई टिम भिडेका थिए । 

‘सन् २०१४ र २०१६ भएका खेलहरूमा म सहभागी थिए । खेलाडीका रुपमा भन्दा पाकिस्तानसँगको खेलमा हामी सर्वाधिक दबाबमा रहन्छौँ । खेल सुरु हुनुअघि नै दुवै टिमका खेलाडीहरू दबाबमा परिसकेका हुन्छन् । भारत र पाकिस्तानका क्रिकेट प्रेमीका लागि मात्र नभएर विश्‍व क्रिकेटका लागि नै यो खेल अत्यन्तै रोमाञ्‍चक हुन्छ,’ भारतीय खेलाडी सुरेश रैनाले भनेका छन् । 

भारत र पाकिस्तानबीचको भिडन्त क्रिकेट समर्थकका लागि कत्तिको महत्वपूर्ण छ भन्ने कुरा टिकट बिक्रिले पनि देखाउँछ । आइतबारको खेलका लागि १७ हजार ५०० टिकट बिक्रिमा राखिएको थियो । सबै टिकट केही घण्टाभित्रै बिके । फेरि यो खेल टेलिभिजनमा पनि प्रत्यक्ष प्रशारण हुन्छ नै । दुवै देशका टेलिभिजनहरूमा यस खेलबारे बहस जारी छ । र, खेल सकिएपछि पनि जारी नै रहनेछ । 

‘टिकटका लागि अनुरोध गर्नेहरूको सन्देशले मेरो इनबक्स भरिएको छ ।विश्‍व क्रिकेटका कुनै पनि अर्को खेलभन्दा भारत र पाकिस्तानबीचको खेल नै ठूलो हो,’ दुबईमा क्रिकेट टिमको मालिक रहेका अनि साजन भन्छन्, ‘हुनसक्छ, यो खेल एकपक्षीय हुनेछ । तर यसले क्रिकेट समर्थकलाई उत्साहित हुनबाछ रोक्न सक्दैन ।’ उनको संकेत विश्‍वकपमा भारत र पाकिस्तानबीचको हेड–टु–हेडतर्फ थियो । दुवै ढाँचाको विश्‍वकपमा भारत पाकिस्तानसँग अपराजित छ । 

भारत र पाकिस्तानबीचको खेलले समर्थकमात्रै उत्साहित छैनन्, ब्रोडकास्टर पनि उत्तिकै फुर्किएका छन् । कारण, यो खेलका कारण हुने फाइदा हो । ‘विश्‍व खेलकुदमै भारत र पाकिस्तानबीचको क्रिकेट खेलको व्यवसायिक महत्व उच्च छ । क्रिकेट नपछ्याउनेले समेत यो खेल हेर्छन्,’ विश्‍वकपको आधिकारीक ब्रोडकास्टर स्टार स्पोर्ट्स्का भारत प्रमुख सन्जोग गुप्ता भन्छन् । 

उता पाकिस्तानमा दराजले आफ्नो एप्लिकेशनमा यो खेलको प्रत्यक्ष प्रशारण गर्दैछ । अनलाइन सपिङ प्लाटफर्म दराजले पाकिस्तानमा क्रिकेट खेलको प्रत्यक्ष प्रशारण गर्न लागेको यो पहिलो पटक हो । दराजको कदमप्रति खुशी हुने पाकिस्तानीको संख्या अत्याधिक छ । 

‘हाम्रो एप्लिकेशन इन्स्टल गर्नेको संख्या ह्वात्तै बढेको छ । व्यापार बढेको छ । हामी उत्साहित छौँ । आशा छ, हाम्रो उत्साहमा जितको खुशीयाली पनि थपिनेछ,’ पाकिस्तानस्थित दराजका प्रबन्ध निदेर्शक इशान साया भन्छन् ।  

भारत र पाकिस्तानबीचको खेल हुने दिन नै इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेल हुने तालिका छ । खेल समय पनि लगभग खप्टिनेछ । यसकारण कुन खेल हेर्ने भन्नेमा खेलकुद समर्थकमा केही हदसम्मको दुविधा छ । ‘क्रिकेट र फुटबल उत्तिकै हेर्नेका लागि यो बडो दुविधाको विषय हो । सायद म क्रिकेट टेलिभिजन अनि फुटबल चाहिँ मोबाइलमा एकै समयमा हेर्नेछु,’ भारतमा साइबर सेक्युरिटी सम्बन्धी कम्पनी सञ्चालन गर्ने देबसिस सरकार भन्छन् । रोयटर्सको सहयोगमा 


Author

थप समाचार
x