क्रिकेट

पाकिस्तान र भारतबीचको खेलका मुख्य पाँच बुँदा

इकागज |
कात्तिक ८, २०७८ सोमवार १४:४१ बजे

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकपमा आइतबार राति पाकिस्तान र भारत आमनेसामने भए । कुनै पनि विश्वकपमा यसअघि भारतलाई हराउन नसकेको पाकिस्तानले यसपाली सबैलाई छक्क पार्‍यो । चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई १० विकेटले हरायो । दुबईमा प्राप्त सफलताका कारण पाकिस्तान खुशीयाली मनाइरहेको छ । 

पाकिस्तानले ऐतिहासिक जित दर्ता गरेपछि यस खेलबारे विश्वभर चर्चा भइरहेको छ । दुई टिमको प्रदर्शनको विश्लेषण भइरहेको छ । यस आलेखमा दुई छिमेकीबीच भएको खेलको पाँच मुख्य पक्षबारे चर्चा गरिनेछः 


दुनियाँमा केही कुरा पनि स्थायी छैन 

खेलकुदमा मात्र होइन, कुनै पनि क्षेत्रमा केही कुरा पनि सधैँ एकैनास रहँदैन । न त सफलता र असफलताकै आयु हुन्छ । कुनै पनि खेलमा सधैँ एउटै टिमको दबदबा रहँदैन । क्रिकेटमा पनि यही तथ्य हो । पाकिस्तानले भारतलाई विश्वकपमा कहिल्यै पनि हराउन सकेको थिएन । सायद पाकिस्तानी समर्थकले पनि भारतलाई पराजित गर्न सकिन्छ भन्ने आशा राखेका थिएनन् । अनि भारतीय समर्थकमा भने पाकिस्तानलाई त सजिलै हराउन सकिन्छ भन्ने आत्मविश्वास रहेको हुनुपर्छ । 

तर आइतबारको नतिजाले सबैको अनुमानले फेल खायो । पाकिस्तानी टिम मानसिकरुपमा तयार रहेको देखियो, भारतलाई सशक्त रुपमा चुनौती दिन । जब कुनै पनि टिम मानसिक रुपमा बलियो बन्छ, तब नतिजा उसको पक्षमा जाने सम्भावना बढ्छ नै । अब प्रश्‍न उठेको छ, भारतलाई हराएपछि पाकिस्तानको विश्वकप जित्ने सम्भावना बढेको हो ? के फेरि आमने सामने हुँदा पाकिस्तानले भारतलाई माथ खुवाउन सक्छ ? ओडीआई विश्वकपमा पाकिस्तानले भारतविरुद्ध कस्तो प्रदर्शन गर्ला ? यी तमाम प्रश्नहरूको जवाफ अहिल्यै नै कसैले दिन सक्दैन । यसको जवाफ समयले नै देला । 

पाकिस्तानको जितका कारण सुपरस्टारहरू

अहिलेको पाकिस्तानी टिममा तीन खेलाडीलाई सुपरस्टार मान्न सकिन्छ । ती हुन्, बाबर आजम, मोहम्मद रिज्वान र शाहिन अफ्रिदी । यी तीनै खेलाडीले आइतबार पाकिस्तानका लागि निर्णायक प्रदर्शन गरे । बाबर र रिज्वानले उत्कृष्ट ब्याटिङ गरे भने शाहिनले तीन विकेट लिए । 

यी तीनबाहेक पाकिस्तानमा अन्य प्रतिभाशाली खेलाडीहरू पनि छन् । तर टिमका अन्य खेलाडीलाई ढाडस दिने नेतृत्वकर्ता बाबर, रिज्वान र शाहिन नै हुन् । जब यी खेलाडी चल्छन्, तब पाकिस्तानले जित्ने सम्भावना बढ्छ । भारतसँगको खेलमा हरिस राउफ र शाहदब खानको प्रदर्शन पनि हेर्न लायकको थियो । तर पाकिस्तानी टिमको निर्माण बाबर, रिज्वान र शाहिन वरिपरी नै हुनुपर्छ । 

बाबर र रिज्वनको रोटेसन र फिटनेस 

भारतलाई हराउन पाकिस्तानले १५२ रन बनाएको थियो । त्यसमध्ये ७८ रन चौका र छक्काबाट संकलन भएको थियो । बाँकी रन भने बाबर र रिज्वनले एक रन, दुई रन गर्दै जोडे । यसले के देखाएको छ भने, टी–ट्वान्टी खेल चौका र छक्कामा मात्रै निर्भर छैन । अनि बाबर र रिज्वनको फिटनेसको तारिफ गर्नु पर्ने आवश्यकता पनि छ । 

विराट कोहलीको टिम छनौट 

विराट कोहली नेतृत्व‍को भारतीय टिम हरेक विभागमा पाकिस्तानभन्दा बलियो रहेको मानिन्छ । उसले टिम छनौट गर्दा एक वा दुई खेलाडी परिवर्तन गर्दा पनि खासै फरक नपर्ने अवस्था छ । यद्यपि यसो भनिरहँदा हार्दिक पान्ड्यालाई कोहलीले मौका दिरहेकोबारे प्रश्न उठेको छ । पान्ड्यालाई अलराउन्डर मानिएको छ तर उनको बलिङ देखिएको छैन । बलिङ नगर्ने ‘स्पेसलिस्ट’ ब्याटर किन सात नम्बरमा चाहिएको ? पान्ड्याको स्थानमा इशान किसानलाई खेलाउने विपकल्प पनि छ कोहलीसँग । तर कारणवश किसानले मौका पाइरहेका छैनन् । 

जित नै चाहिएको थियो पाकिस्तानलाई  

पाकिस्तानमा विभिन्न समस्या देखा परिरहेका छन् । संघीय राजधानी इस्लामावादमा विभिन्न समूहको आन्दोलन जारी छ । आन्दोलनमा केही दिनअघि पेट्रोल बम पनि पड्काइयो । पाकिस्तानभर विद्युतको मूल्य बढेको छ । त्यसमाथि खाना पकाउने ग्यासको अभाव सिर्जना भएको छ । छिमेकी अफगानिस्तानको राजनीतिक घटनाक्रमले पाकिस्तानलाई पनि असर पार्ने निश्चित छ । यस्तोमा पाकिस्तानी नागरिकका लागि खुशी हुने मौकाको खाँचो थियो । भारतमाथिको विजय यही मौका बनेर आइपुगेको छ । 

अबको केही दिन पाकिस्तानमा खुशीयाली छाउनेछ । पाकिस्तानले विश्वकप जितिहालेको छैन, तर वर्षौदेखि जित्न चाहिरहेको खेलमा भने उ सफल भएको छ । विश्वकप उपाधि आफ्नो पोल्टामा आओस् वा नआओस्, पाकिस्तानी समर्थक उल्लासमा छन् । पाकिस्तानी अखबार डनबाट 
 


Author

थप समाचार
x