क्रिकेट

अफगानिस्तानको घाउ बिर्साउन सक्ने क्रिकेट

इकागज |
कात्तिक ८, २०७८ सोमबार १६:३२ बजे

काठमाडौँ- अफगानिस्तानले सोमबार आईसीसी टी–ट्वान्टी विश्वकपमा आफ्नो पहिलो खेल खेल्दैछ । सुपर १२ को समूह २ मा रहेको अफगानिस्तानको भेट स्कटल्यान्डसँग हुँदैछ । शारजहाँ क्रिकेट मैदानमा हुने खेललाई लिएर अफगानिस्तामा उत्साह जागेको छ । भलै त्यहाँको राजनीतिक अवस्था ठिकठाक नहोस् । 

गत अगस्टमा काबुललाई नियन्त्रणमा लिएपश्चात तालिबानले अफगानिस्तानको सत्ता सञ्चालन गरिरहेको छ । तर तालिबानको सरकारलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिइसकेको छैन । त्यसमाथि अफगानी राजनीतिमा व्यापक ध्रुविकरण पनि छ । सबै शत्ति एकै ठाउँमा छैनन् । भोकमारी, आर्थिक संकट लगायतका समस्या गहिरिँदै जाँदा अफगानी नागरिकहरू पीडामा छन् । तर उनीहरू सोमबारको खेलका लागि तयार छन् । अनि तयार छ, संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको अफगानी टिम पनि ।


स्कटल्यान्डसँगको खेलअघि सञ्चार माध्यमहरूसँगको कुराकानीमा अफगानी कप्तान मोहम्मद नाबीले आफ्नो देशको पछिल्लो अवस्थाबारे पनि टिप्पणी गरे । विदेशी पत्रकारहरूले राजनीतिक प्रशन सोध्न नछाडेपछि नाबीले सिधा जवाफ दिए, ‘अफगानिस्तानमा के भइरहेको छ भन्‍नेबारे विश्व समुदाय जानकार छ । हामी ठूलो राजनीतिक परिवर्तनको साक्षी बनेका छौँ ।  त्यहाँ तमाम समस्या छन् । तर पनि अफगानी नागरिक यो खेलको प्रतिक्षामा छन् । अफगानीका लागि खुशी हुने मौका हो, क्रिकेट । हामी स्कल्यान्डविरुद्ध जित हासिल गर्दै अफगानिस्तानमा रहेका सबैको मुहारमा मुस्कान ल्याउन चाहन्छौँ ।’

तालिबान सत्तामा फर्किएपछि खेलकुदको भविष्य के हुने भन्‍ने टुंगो छैन । क्रिकेट नै पनि सुस्ताएको छ । त्यहाँको महिला क्रिकेटमाथि त प्रतिबन्ध नै लागिसकेको अवस्था छ । पुरुष क्रिकेट कसरी अघि बढ्छ भन्‍नेबारे कोही पनि प्रष्ट छैन । त्यहीबीचमा रशिद खानले राष्ट्रिय टिमको कप्तानी त्यागेपछि अन्योल छायो । खानको राजीनामापछि नाबीले कप्तानी सम्हाल्न सुरु गरेका हुन् । 

अफगानिस्तानमा पछिल्लो समय खेलकुदको भविष्यलाई लिएर प्रश्न उठे पनि क्रिकेट त्यहाँको सबैभन्दा लोकप्रिय खेल हो । फेरि अफगानी क्रिकेटले लामो बाटो तय गरेर यहाँसम्म आइपुगेको हो । अफगानिस्तान क्रिकेटमा कति बलियो छ भन्‍ने कुरा उसले जारी विश्वकपको समूह चरणमा सिधा छनौट भएर देखाइसक्यो । सुपर १२ का लागि श्रीलंका र बंगलादेशले पहिलो चरणमा भाग लिँदा अफगास्तिानले भने पहिल्यै आफ्नो स्थान सुरक्षित गर्‍यो ।

कप्तान नाबी आफ्नो टिम विश्व क्रिकेटका ठूला टिमहरूको सूचीमा पर्न मेहेनत गरिरहेको बताउँछन् । ‘यो विश्वकपमा हामीले राम्रो प्रदर्शन गरे, हाम्रो स्तोरन्‍नति हुनेछ,’ नाबीले भनेका छन् । नाबीको कप्तानीमा रहेको अफगानी टिमको टी–ट्वान्टी सफलताको मुख्य कारण स्पिन बलिङ र ब्याटिङ हो । नाबी आफैँबाहेक पूर्वकप्तान रशिद र मुजिब उर रहमानको स्पिन बलिङले अफगानिस्तानलाई बलियो बनाएको छ । 

अफगानिस्तानको अर्को बलियो पक्ष उसका खेलाडीहरुको विदेशी लिग खेलेको अनुभव पनि हो । अफगानिस्तानका १५ खेलाडीमध्ये आठले विभिन्‍न देशका टी–ट्वान्टी लिगमा खेलेको अनुभव छ । ‘हाम्रा सात–आठ खेलाडीसँग विदेशी लिगमा खेलेको अनुभव छ । पछिल्लो ६ महिनामा उनीहरू विदेशी भूमिमै खेल्नमा व्यस्त रहे । हामी राम्रो सेपमा छौँ भन्‍ने सोचिरहेका छन्, अफगानिस्तानमा । हामी आत्मविश्वासी भएर खेल्ने प्रयत्न गर्ने छौँ,’ नाबीले भने । 

एएफपीको सहयोगमा 


Author

थप समाचार
x