क्रिकेट

महिला टी–ट्वान्टी विश्वकप छनौटः

यूएईसँग हारेपछि ग्लोबल छनौटमा पुग्‍ने नेपालको लक्ष्य अपूरो

इकागज |
मंसिर १२, २०७८ आइतबार १५:२१ बजे

काठमाडौँ- सन् २०२३ मा हुने आईसीसी महिला टी–ट्‍वान्टी विश्वकपमा छनौट हुने नेपालको सपनामा पूर्णविराम लागेको छ । ग्लोबल छनौटको बाटो हुँदै विश्वकपसम्मको यात्रा गर्ने लक्ष्यमा थियो, नेपाल । ग्लोबल छनौटमा स्थान बनाउन एसियातर्फको छनौटमा शीर्षस्थानमा रहन जरुरी थियो । तर एसियाली छनौटमा नेपाल दोस्रो स्थानमै सीमित भयो । 

एसियाली छनौटको आफ्नो अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग हारेपछि नेपाल दोस्रो स्थानमै अड्किएको हो । यूएईको दुबईस्थित आईसीसी एकेडेमी क्रिकेट मैदानमा भएको खेलमा आयोजक टिमसँग नेपाल ४८ रनले पराजित भयो । छनौटमा नेपालले भागेको यो दोस्रो पराजय हो । पहिलो खेलमा नेपाल हङकङसँग निराश बनेको थियो । 


यूएईसँग पराजित भएपछि नेपालको खातामा पाँच खेलबाट ६ अंक छ । पहिलो स्थानको यूएईको भने १० अंक छ । यूएईले आफ्नै भूमिमा भएको छनौटको कुनै पनि खेल हारेन । उता हङकङको पनि ६ अंक नै छ । रनरेटमा नेपालभन्दा पछि रहेकाले हङकङ तेस्रो स्थानमा रहेको हो । तर एक खेल खेल्न बाँकी रहेकाले हङकङ अंक तालिकामा दोस्रो स्थानमा उक्लने सम्भावना छ । 

पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा पाँच विकेट गुमाएर १२७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले भने ७९ रनमै अलआउट भयो । नेपालका लागि दुई ब्याट्सवुमनले मात्रै दोहोरो अंक जोड्न सके । ओपनिङ गरेकी इन्दुश बर्माले १५ रन बनाइन् भने चौथो स्थानमा ब्याटिङ गरेकी सिता राना मगरको नाममा १३ रन रह्यो । 

यूएईको जितमा समाइरा धार्निधर्काको बलिङ महत्वपूर्ण बन्यो । उनले पाँच रन खर्चिएर चार विकेट हात पारिन् । विजयी टिमकी चमानी सेनेभिरत्नाले ६ रन दिएर दुई विकेट लिइन् । यसैगरी खुशी शर्माको नाममा दुई किवेट रह्यो भने छायाँ मुगलले एक विकेट थपिन् । 

बलिङमा झैँ ब्याटिङमा पनि यूएई उस्तै बलियो देखियो । दुई विकेट लिएकी चमानीले ५२ रन बनाइन् । त्यसअघि ओपनर तिर्था सतिशले ४७ रन जोडेकी थिइन् । यसैगरी काभिसा एगोडाजले २२ रनको योगदान गरिन् ।   


Author

थप समाचार
x