क्रिकेट

मुम्बईमा इतिहास रच्‍ने दाउमा न्युजिल्यान्ड

इकागज |
मंसिर १६, २०७८ बिहिवार ११:५२ बजे

काठमाडौँ- न्युजिल्यान्ड क्रिकेट टिम हाल भारत भ्रमणमा छ । भ्रमण दौरान उसले घरेलु टिमसँग तीन टी–ट्वान्टी खेलिसकेको छ । यी तीनै खेलमा हारेको न्युजिल्यान्डले पहिलो टेस्टमा चाहिँ भारतसँग बराबरी खेल्यो । अब दोस्रो टेस्ट शुक्रबारबाट सुरु हुँदैछ । यो टेस्ट मुम्बईमा खेलिँदैछ ।  

यो खेलमा भारतलाई निराश बनाउन आफहरू आत्मविश्वासी रहेको न्युजिल्यान्डका बलर अजाज पटेलको भनाइ छ । मुम्बईमा भारतलाई पराजित गरेर टेस्ट श्रृंखला जित्दै इतिहास रच्‍ने दाउमा आफूहरू रहेको पटेलले बताए । संयोगवश पटेल मुम्बईमै जन्मेका थिए । उनको परिवार सन् १९९६ मा मुम्बईबाट न्युजिल्यान्ड बसाइ सरेको थियो । 


‘हामीले यो टेस्ट श्रृंखला जित्‍ने सम्भावना छ । भारतीय भूमिमा टेस्ट जित्‍ने इतिहास कोरिनेछ । यहाँ सफल हुन कति गाह्रो छ भन्नेबारे हामी जानकार छौँ,’ पटेलले भने । विश्व टेस्ट च्याम्पियनसिप विजेता न्युजिल्यान्डले भारतीय भूमिमा अहिलेसम्म टेस्ट श्रृंखला जित्न सकेको छैन । यति मात्रै होइन उसले सन् १९८८÷८९ को भ्रमणयता भारतमा टेस्ट खेल नै जितेको छैन । 

‘यो टिम विशेष छ । इतिहास रच्न सक्षम छ । हामीले विगत हेर्न जरुरी छैन । हामी वर्तमानमा केन्द्रित छौँ । विश्व टेस्ट च्याम्पियनसिपमा हामीले भारतलाई पराजित गरेका थियौँ । फेरि त्यही नतिजा दिन हामी आत्मविशवासी छौँ,’ पटेलले भनेका छन् । 
  
 


Author

थप समाचार
x