क्रिकेट

अन्तिम ओभरमा करण केसीको चार डट बलले पुलिसको रोमाञ्चक जित

इकागज |
पुस २६, २०७८ सोमबार १४:१७ बजे

काठमाडौं–अन्तिम ओभरमा चार डट बल खेल्दै करण केसीले नेपाल पुलिस क्लबलाई रोमाञ्चक जित दिलाएका छन् । प्रधानमन्त्री कप टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि पुलिसले २ रनको रोमान्चक जित हात पारेको हो ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको थियो । सोअनुसार सुदूरपश्चिमले ९४ रनको विजयी लक्ष्य पछ्याएको हो। तर, उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन मात्रै बनायो । अन्तिम ओभरमा ६ रनको आवश्यक रहेकोमा करण केसीले चार बल डट राखे । त्यो नै जितका लागि पुलिसलाई काफी बन्यो । उनले पहिलो, तेस्रो, पाँचौ र छैटौं बल डट राख्दै जित सुनिश्चित गरे ।


सुदूरपश्चिमका ओपनर गजेन्द्र बोहराले २५ बलमा २ छक्कासहित २७ रन बनाए । नारायण जोशीले २२ रनको योगदान दिए। खडक बोहराले१३ रन बनाए । अन्यको प्रदर्शन राम्रो रहेन। बलर आरिफ शेखले ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । करण केसी, दीपेन्द्रसिंह ऐरी र पवन सरार्फले १–१ विकेट लिए ।

पुलिसका कुशल भुर्तेलले १ छक्कासहित सर्वाधिक २१ रन बनाए । उनले ३८ बल खेले। यस्तै पवन सर्राफले २० रन जोड्दा आरिफ शेखले १० रन बनाए । सुदुरपश्चिमका नारायण जोशी र आदित्य महताले ३र३ विकेट लिए । शेर मल्लले २ विकेट लिए ।

पुलिसले मंगलबार विहान टियु मैदानमा आर्मीसँग खेल्नेछ । आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले हराएको थियो ।


Author

थप समाचार
x