क्रिकेट

प्रधानमन्त्री कप राउन्ड–अप

तीनवटै विभागीय टिमको विजयी सुरुवात, बागमतीले लुम्बिनीलाई हरायो

इकागज |
पुस २६, २०७८ सोमबार १८:२० बजे

काठमाडौँ- प्रधानमन्त्री कप पुरुष टि–ट्‍वान्‍टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार चार खेल भए । उद्घाटनका दिन दुई खेल त्रिभुवन विश्वविद्यालयको मैदानमा भए भने बाँकी दुई खेल मुलपानी क्रिकेट मैदानमा भए । यी खेलमा तीन विभागीय टिम र बागमती प्रदेश विजयी भए । दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्‍यो भने दोस्रो खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशमाथि दुई रनको रोमाञ्चक जित दर्ता गर्‍याे । यसैगरी तेस्रो खेलमा नेपाल एपीएफ क्लबले प्रदेश २ लाई २४ रनले पन्छायो । उता बागमतीले लुम्बिनी प्रदेशलाई ४९ रनले हरायो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा आर्मीले टस हारेर पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा ११६ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको कर्णाली भने १४.१ ओभरमा ५३ रनमै अलआउट भएको थियो । 


आर्मीको जितमा कप्तान विनोद भण्डारीले सर्वाधिक २९ रन जोडेका थिए । आर्मीका लागि विनोदसहित कुल चार खेलाडीले दोहोरो अंक जोडेका थिए । त्यसमध्ये ओपनर हरि चौहानले २१ बलमा २० रन बनाएका थिए । अनि रोहित पौडेल र कुशल मल्लको नाममा १०–१० रन रह्यो । 

बलिङतर्फ कर्णालीका प्रकाश जैशीले तीन विकेट लिए । यसैगरी पराजित टिमका लागि अनुज चुनराले दुई विकेट लिए भने दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले एक–एक विकेट हात पारे । 

कर्णालीका लागि जम्मा दुई खेलाडीले मात्रै दोहोरो अंक जोडे । कप्तान रविन्द्रले १४ बलमा १५ बनाए भनेअर्जु घर्तीले १६ रन जोडे । कर्णालीले विपिन रावल, हेमन्त ओली र राज शाहलाई शून्यमा गुमाएको थियो । कर्णालीलाई सस्तोमा समेट्न आर्मीका जितेन्द्र मुखियाले चार विकेट लिए । अनि शहाब आलमले तीन रन खर्चेर दुई विकेट लिँदा शुसन भारीले उति नै विकेट हात पारे । सोमपाल कामी र विक्रम सोबको नाममा भने एक–एक विकेट रह्यो ।

मुलपानीमा भएको सुदूरपश्चिमविरुद्धको खेलमा पुलिसले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९३ रन बनाएको थियो । सुदूरपश्चिम भने ९१ रनमा सीमित भएको थियो । ओपनरद्वय कुशल भुर्तेल र पवन शराफले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । कुशलले २१ रन बनाएका थिए भने पवनले २० रन जोडे । खेलमा पुलिसका लागि यी दुईबाहेक दोहोरो अंक जोड्ने तेस्रो खेलाडी बनेका आरिफ शेखले १० रनको योगदान गरे । 

बलिङतर्फ सुदूरपश्चिमका लागि आदित्य महताले नौ विकेट खर्चिएर तीन विकेट हात पारेका थिए । उनीसँगै नारायण जोशीले पनि तीन विकेट हात पारेका थिए । विजयी टिमका लागि शेर मल्लले दुई विकेट लिएका थिए । 

सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले २७ रन जोडे । उनीसँगै ओपनिङ गरेका खडक बोहोराले १३ रनको योगदान गरे । यसैगरी नारायण जोशीको नाममा २२ रन रह्यो । पुलिसका लागि आरिफ शेखले धारिलो बलिङ गरे । नौ रन खर्चिएका आरिफले चार विकेट हात पारेका थिए । उनीबाहेक पुलिसका लागि विकेट लिने खेलाडीमा पवन शराफ, दीपेन्द्र सिंह ऐरी र करण केसीले एक–एक विकेट लिएका थिए । 

समूह बी को खेलमा प्रदेश २ को सामना गरेको एपीएफका लागि प्रदीप ऐरी र आसिफ शेखले अर्धशतक बनाए । यी दुईको विष्फोटक ब्याटिङमा एपीएफले २० ओभरमा पाँच विकेट गुमाएर १६३ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको प्रदेश २ ले भने नौ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । 

एपीएफका लागि ओपनिङ गरेका प्रदीप र आशिफले क्रमशः ६० र ६३ रन बनाए । ४८ बल सामना गरेका प्रदीपले नौ चौका प्रहार गरेका थिए । अर्का अर्धशतकधारी आशिफले पाँच छक्का र तीन चौका प्रहार गरेका थिए । विभागीय टिमका अन्य ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । 

बलिङतर्फ प्रदेश २ का रुपेश सिंहले चार विकेट लिए भने विवेक यादवको नाममा एक विकेट रह्यो । ब्याटिङमा पराजित टिमका लागि हरीशंकर साहले ३६ रन बनाउँदा मोहम्मद आदिल आलमले ३५ रन जोडे । 

पहिलो दिनको अन्तिम खेलमा बागमतीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनाएको थियो । टस हारेको लुम्बिनी भने १५.४ ओभरमा ६५ रनमै अल आउट भयो । लुम्बिनीका लागि कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन जोडे । उनीपछि धेरै स्कार गर्ने खेलाडी बासिर अहमद रहे । बासिरको नाममा ११ रन रह्यो । 

लुम्बिनीलाई सस्तोमा समेट्न बागमतीका नन्दन यादवले ११ रन खर्चिएर तीन विकेट लिए । विजयी टिमका तीन खेलाडीले दुई–दुई विकेट हात पारे । ती खेलाडीमध्ये तिलक भण्डारी र रामनेरश गिरीले जम्मा दुई–दुई रन खर्चिए । दुई विकेट नै लिने अर्का खेलाडी सुवास खत्री थिए । 

बागमतीलाई जित दिलाउन ओपनर सुवास खकुरेलले ५३ बलमा ५१ रनको योगदान गरेका थिए । अर्का ओपनर इशान पाण्डेले १३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लको नाममा १९ रन रह्यो । बलिङतर्फ लुम्बिनीका लागि दुर्गेश गुप्ता र अनिल खरेलले दुई–दुई विकेट लिए । त्यसैगरी सिद्दान्त शाही, बासिर अहमद र विक्रम भुसालले एक–एक विकेट हात पारे । 
   
 


Author

थप समाचार
x