क्रिकेट

प्रधानमन्त्री कपमा पुलिस र आर्मीको जित

इकागज |
पुस ३०, २०७८ शुक्रवार १३:२९ बजे

काठमाडौँ- काठमाडौँ उपत्यकामा जारी प्रधानमन्त्री कप टि–ट्‍वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेका छन् । पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गर्‍यो भने आर्मीले सुदूरपश्चिममलाई तीन विकेटले हरायो । प्रतियोगितामा शतप्रतिशत जित हासिल गरेको पुलिसका लागि यो तेस्रो जित हो । पुलिसले आफ्नो पहिलो खेलमा सुदूरपश्चिमलाई २ रनले र दोस्रो खेलमा आर्मीलाई चार विकेटले पराजित गरेको थियो । लगातार तेस्रो खेल जितेपछि पुलिस समूह ए मा ६ अंकसहित शीर्षस्थानमा छ । 

उता आर्मीका लागि पनि यो दोस्रो जित हो । उसले पहिलो खेलमा कर्णालीमाथि ६३ रनको विजय हासिल गरेको थियो । तर दोस्रो खेलमा भने आर्मी पुलिससँग हारेको थियो । आर्मीको तेस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो । पुलिसँगै समूह ए मा रहेको आर्मीको खातामा चार खेलबाट पाँच अंक भएको छ । 


त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा पुलिसले टस जितेर ब्याटिङ रोजेको थियो । कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि पुलिसले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २४४ रनको योगफल तयार पारेको थियो । जवाफमा कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर १५५ रन मात्रै बनाउन सक्यो । 

३९ बल सामना गरेका कुशलले तीन छक्का र नौ चौकाको सहयोगमा ८२ रन बनाएका थिए । अर्का अर्धशतकधारी दीपेन्द्रले २८ बलमा ६२ रन जोडेका थिए । उनले दुई छक्का र नौ चौका प्रहार गरे । विजयी टिम पुलिसका लागि पवन शराफले २२ रन, कप्तान मन्जित श्रेष्ठले १९ र आरिफ शेखले अविजित १८ रनको योगदान गरे ।

बलिङतर्फ कर्णालीका तीन खेलाडीले दुई–दुई विकेट हात पारे । ती खेलाडी अनुज चुनरा, प्रकाश जैशी र रविन्द्र शाही थिए । 

पराजित टिम कर्णालीका लागि प्रकाश जैशीले अर्धशतक बनाउन सफल भए । उनले ४७ बलमा ६८ रन जोडे । कर्णालीका लागि अन्य खेलाडीले भने उल्लेख्य स्कोर गर्न सकेनन् । दिवन पुनले अविजित १७ रन बनाउँदा कप्तान रविन्द्र पनि १७ रनमै आउट भए । कर्णालीले ओपनर मनिष थापा १५ रनमा गुमाएको थियो । 

विजयी पुलिसका लागि दीपेन्द्र र योगेन्द्र सिंह कार्कीले दुई–दुई विकेट लिए भने कुशल, पवन, करण केसी र गुलशन झाको नाममा एक–एक विकेट रह्यो । 

दिनको दोस्रो खेलमा टस हारेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० आभेरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको आर्मीले सात विकेटको क्षतिमा १२० रन बनाएको थियो । 

सुदूरपश्चिमलाई सस्तोमा समेट्न विक्रम सोबले आठ रन खर्चिएर ६ विकेट लिएका थिए । पराजित टिमका लागि सर्वाधिक ३७ रन बनाएका खडक बोहोरा विक्रमको बलमा आउट भएका थिए । खडकपछि धेरै रन बटुल्ने खेलाडी बनेका बसन्त कार्की ३४ रनमा पभेलियन फर्किए । सुदूरपश्चिमका लागि अर्जुन साउदले १५, हेमन्त धार्मीले आठ, गजेन्द्र बोहोराले पाँच र दीपक बोहोराले दुई रन बनाए ।  

आर्मीलाई जिताउन धारिलो बलिङ गरेका विक्रमले ब्याटिङतर्फ पनि सन्तोषजनक प्रदर्शन गरे । म्यान अफ दी म्याच बनेका उनले अविजित २९ रन बनाए । विजयी टिमका लागि सबैभन्दा धेरै स्कोर भने हरि चौहानले गरे । उनको नाममा ३३ रन रह्यो । विभागीय टिमका लागि भिक शार्कीले १३, शहाब आलमले १२ र कुशल मल्लले ११ रनको योगदान गरे । सुदूरपश्चिमका लागि आदित्य महताले १४ रन खर्चिएर चार विकेट लिएका थिए । पराजित टिमका लागि हेमन्त, नारायण जोशी र शेर मल्लले एक–एक विकेट लिए । 
 
 


Author

थप समाचार
x