क्रिकेट

प्रधानमन्त्री कपमा विभागीय टिमलाई पछ्याउँदै बागमती

इकागज |
पुस ३०, २०७८ शुक्रबार १८:२९ बजे

काठमाडौँ- एपीएफले प्रधानमन्त्री कप टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी लयलाई जारी राखेको छ । प्रतियोगितामा चौथो जित हासिल गर्ने क्रममा एपीएफले शुक्रबार लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गर्‍यो । शुक्रबार नै भएको अर्को खेलमा बागमती प्रदेशले प्रदेश २ लाई पाँच विकेटले पन्छायो । 

शुक्रबारका खेलपछि एपीएफले चार खेलबाट आठ अंक बनाएको छ । एपीएफ समूहको पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको बागमतीको खातामा चार अंक छ । उसले तीन खेलबाट चार अंक जम्मा गरेको छ । तेस्रो र चौथो स्थानमा क्रमशः प्रदेश २ र लुम्बिनी छन् । प्रतियोगितामा एक–एक खेल जितेका प्रदेश २ र लुम्बिनीको दुई–दुई अंक छ । 


मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०४ रनको योगफल तयार गरेको थियो । विजयी एपीएफले लुम्बिनीले दिएको लक्ष्य ११ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्न सफल भयो । 

लुम्बिनीका तीन ब्याट्सम्यानले मात्रै दोहोरो अंकको स्कार गरे । सर्वाधिक रन बनाउने क्रममा देव खनालले ४२ बलमा ४३ रन बनाए । अनि सुशान्त थापा र कप्तान कृष्ण कार्कीको नाममा क्रमशः १८ र १३ रन रह्यो । 

एपीएफका लागि चार खेलाडीले दुई–दुई विकेट लिए । कमल ऐरी, किशोर महतो, आविनाश बोहोरा र दीपक बोहोराले लुम्बिनीका दुई–दुई खेलाडीलाई आउट गर्न सफल भए । यी चारबाहेक  विकेट लिने अर्का खेलाडी थिए, शरद भेस्वाकर । उनको नाममा एक विकेट रह्यो । 

विष्फोटक ब्याटिङ गरेका एपीएफका आसिफ शेखले २६ बलमा ४३ रन जोडे । उनले तीन छक्का । चार चौका प्रहार गरे । यसैगरी प्रदीप ऐरीले २० बल सामना गर्दा ३६ रन बनाए । राम्रो लयमा देखिएका प्रदीपले चार छक्का र दुई चौका प्रहार गरे । बलिङतर्फ लुम्बिनीका लागि बसिर अहमदले दुई विकेट हात पारे भने सिद्वान्त शाहीको नाममा एक विकेट रह्यो ।  

उता त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा हरिशंकर साहले अर्धशतक प्रहार गरेपनि प्रदेश २ ले बागमतीलाई रोक्न सकेनन् । पहिले ब्याटिङ गरेको प्रदेश २ ले हरिशंकरको ५६ रनको सहयोगमा २० ओभरमा १५५ रन बनाएको थियो । तर बागमतीले पाँच विकेट गुमाएर १९.४ ओभरमा लक्ष्य प्राप्त गर्‍यो । बागमतीको जितमा इशान पान्डेले ३२ रनको योगदान गरे । अनि लक्की कठायतले २८, प्रतिस जिसीले २२ र सुवास खकुरेल तथा कप्तान ज्ञानेन्द्र मल्लले २०–२० रन बनाए । 

त्यसअघि प्रदेश २ का विवेक हरिशंकरले ५६ रन जोडेका थिए । पराजित टिमका लागि विवेक यादवले २८, कप्तान हसिम अन्सारीले २६ र मोहम्मद आलि आलमले १२ रनको योगदान गरेका थिए । 

शुक्रबार नै भएका अन्य खेलमा दुई विभागीय टिमले जित दर्ता गरेका थिए । समूह ए का ती खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गरेको थियो भने त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशमाथि तीन विकेटको जित हासिल गरेको थियो ।

जारी प्रतियोगितामा पुलिस पनि एपीएफझै अपराजित छ । खेलेका तीन वटै खेलमा जित निकालेको पुलिस ६ अंकसहित शीर्षस्थानमा छ । यो समूहमा दोस्रो स्थानमा आर्मी छ । उसको चार खेलबाट पाँच अंक छ । प्रतियोगितामा विभागीय टिमले बलियो लयलाई निरन्तरता दिँदा बागमतीबाहेकका प्रदेश टिमहरू संर्घषरत देखिएका छन् । 
 


Author

थप समाचार
x