क्रिकेट

टी–ट्वान्टी क्रिकेट विश्वकपः

विश्वकप तालिका सार्वजनिक, डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको पहिलो खेल न्युजिल्यान्ड‌सँग

इकागज |
माघ ७, २०७८ शुक्रवार १५:० बजे

काठमाडौँ- आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको सातौँ संस्करण गत अक्टोबर र नोभेम्बरमा भयो । संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा भएको यो विश्वकप जित्यो, अस्ट्रेलिया । अब भने अस्ट्रेलिया आफैँ विश्वकपको आयोजना गर्दैछ । आउँदो अक्टोबर १६ देखि सुरु हुने विश्वकपको उद्घाटन खेलमा श्रीलंका र नामिबिया भिड्नेछन् । 

डिफेन्डिङ च्याम्पियन तथा आयोजक अस्ट्रेलियाले भने आफ्नो पहिलो खेलमा न्युजिल्यान्डको सामना गर्नेछ । संयोगवश यी दुई टिम पछिल्लो संस्करणको उपाधि भिडन्तमा आमनेसामने भएका थिए । सुपर १२ को समूह १ मा यी अस्ट्रेलिया र न्युजिल्यान्डबाहेक पूर्वविजेता इंग्ल्यान्ड र अफगानिस्तान पनि छन् । सुपर १२ को समूह २ मा भने दक्षिण एसियाका तीन टिम छन् । यी टिम बंगलादेश, भारत र पाकिस्तान हुन् । अनि यी तीन टिमसँगै दक्षिण अफ्रिका पनि यही समूहमा छ ।


सुपर १२ का यी दुवै समूहमा ६–६ टिम रहने छन् । दुई समूहमा रहने चार–चार टिमको निक्र्योल भइसक्दा रिक्त रहेका चार स्थानका लागि भने आठ टिमले प्रतिस्पर्धा गर्नेछन् । गत विश्वकपमा झैँ यसपालि पनि कुल १६ टिमको सहभागिता रहनेछ । 

विश्वकपमा भाग लिने १२ टिमको टुंगो लागिसकेको छ । अब बाँकी चार टिम भने ग्लाबेल क्वालिफायर्सको बाटोबाट आउनेछन् । नेपालले छोटो ढाँचाको विश्वकपमा दोस्रो पटक भाग लिन पनि यही बाटो हिड्ने हो । 

ग्लोबल क्वालिफायर्समा कुल १६ टिमले प्रतिस्पर्धा गर्दैछन् । ग्लोबल क्वालिफायर्सको समूह ए मा नेपाल, बहराइन, ओमान, क्यानडा, जर्मनी, आयरल्यान्ड फिलिपिन्स र यूएई छन् । यी टिमले ओमानमा छनौट खेल्दैछन् । १७ फेबु्रअरीबाट सुरु हुने यो छनौटबाट दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् । 

ग्लोबल क्वालिफायर्सको समूह ‘बी’मा आठ टिम नै छन् । जिम्बावेमा आठ जुलाईबाट सुरु हुने यो समूह ‘बी’तर्फको प्रतिस्पर्धामा घरेलु टिम जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका । यो समूहबाट पनि दुई टिमले विश्वकपको टिकट पक्का गर्नेछन् । 

सुपर १२ का लागि छनौट भइसकेका टिमः  
बंगलादेश, भारत, पाकिस्तान, दक्षिण अफ्रिका, अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्ड 
 

प्रारम्भिक चरणका लागि छनौट भइसकेका टिमः 
नामिबिया, श्रीलंका, स्कटल्यान्ड र वेस्ट इन्डिज । 
 

विश्वकपमा छनौट हुन प्रतिस्पर्धामा रहेका टिमः
नेपाल, बहराइन, ओमान, क्यानडा, जर्मनी, आयरल्यान्ड फिलिपिन्स र यूएई
टिम जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका


Author

थप समाचार
x