क्रिकेट

आफ्नै सफलता पुबुदुको दोस्रो इनिङ्सलाई चुनौती

प्रविणबिक्रम कट्‍वाल |
माघ ८, २०७८ शनिबार ७:३५ बजे

अखबारीय लेखनमा इनिङ्स शब्दको प्रयोग खुबै हुनेगर्छ । कोही व्यक्ति उही पद र भूमिकामा फर्किँदा भनिन्छ, ‘फलानोको दोस्रो इनिङ्स’ । यो शब्द आफैँ चाहिँ क्रिकेट खेलसँग सम्बन्धित छ । र यतिबेला यसलाई पुबुदु दासनायकेसँग जोडेर दुरुस्त प्रयोग गर्न मिल्ने भएको छ । किनभने पुबुदु फेरि नेपाल फर्किएका छन् । भूमिका उही, नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक । 

पुबुदुसँग बात मार्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्दा उनी प्रधानमन्त्री कपको खेल हेर्दै थिए । हालका कप्तान सन्दीप लामिछानेलाई स्काउट गरेको जस पाएका पुबुदु एकाग्र थिए । उनको एकाग्रता हेर्दा लाग्थ्यो, पुबुदु सन्दीप झैँ नयाँ प्रतिभा भेट्टाउने अपेक्षाका साथ खेलमा डुबेका छन् ।


पुबुदु पहिलो पटक अक्टोबर, २०११ मा नेपालको मुख्य प्रशिक्षक बनेका थिए । त्यसपछि चार वर्षसम्म उनी त्यही भूमिकामा रहे । उनी आउँदा डिभिजन चारमा रहेको नेपालले उनकै प्रशिक्षणमा टी-ट्वान्टी विश्वकपसमेत खेल्यो । नेपालले एक दिवसीय मान्यता पाउनुमा पुबुदुले खडा गरेको जगको भूमिका महत्वपूर्ण रह्यो । नेपालले उनको नेतृत्वमा र उनी गएपछि जे-जस्तो उपलब्धि हासिल गर्‍यो, यिनलाई जोगाउने जिम्मेवारी फेरि पुबुदुकै काँधमा आएको छ । 

‘हामीले ओडीआई स्टाटस त जोगाउनु नै छ, टी-ट्वान्टी विश्वकपमा लगातार छनौट हुने लक्ष्य पनि राख्नु छ । सधैँ साना साना प्रतियोगिता खेलिरहने रहर छैन,’ पुबुदुले इकागजसँगको कुराकानीमा भने  ‘ हाम्रो अर्को प्रधान लक्ष्य भनेको, आईसीसीको पूर्ण सदस्यता लिने हो ।’ उनले आफूहरूको अल्पकालीन लक्ष्य ओडीआई स्टाटस बचाउने र टी-ट्वान्टी विश्वकपमा छनौट हुने रहेको र अनि दीर्घकालीन लक्ष्य चाहिँ पूर्ण सदस्यता लिने रहेको बताए ।  

नेपाल पूर्ण सदस्यताको हकदार रहेको पुबुदुको जिकिर छ । ‘अन्य एसोसिएट देश र नेपालबीच आकाश जमीनको भिन्‍नता छ । ती देशमा नेपालको जस्तो क्रिकेट क्रेज छैन । नेपाल आफ्नै घरेलु प्रतिभाको भरमा अघि बढ्न सक्छ । अन्य एसोसिएट देशले यसो गर्न सक्दैनन् । यसकारण अबको मेरो लक्ष्य भनेको नेपाललाई टेस्टसम्म पुर्‍याउने हो,’ पुबुदु भन्छन् । 

तर यसो गर्न केही सर्तहरू पूरा गर्नुपर्छ, नेपाली क्रिकेटले । पुबुदुको भनाइमा घरेलु क्रिकेटको संरचना परिवर्तन पहिलो आवश्यकता हो ।  ‘यस्तो संरचनाको निर्माण गरौँ ताकि धेरैभन्दा धेरै नयाँ प्रतिभाको खेल हेर्न पाइयोस्,’ पुबुदु भन्छन् । अहिलेको संरचनामा हुने प्रतियोगितामा भाग लिने टिमहरूको उद्देश्य जित मात्रै हुने र यसो गर्दा टिम पनि सोही लक्ष्य प्राप्तिका लागि निर्माण गरिने पुबदुको भनाइ थियो । ‘यसरी बनाइएको टिममा नयाँ प्रतिभाले मौका पाउने सम्भावना कम रहन्छ । अनि त हामीले नयाँ खेलाडी कसरी जन्माउने ?’ पुबुदुको प्रश्न छ । 

यस्तोमा पुबुदको सुझाव छ, बढीभन्दा बढी उमेर समूहका प्रतियोगिता आयोजना गर्ने । उसो त घरेलु क्रिकेटको संरचनालाई कसरी परिमार्जन गर्ने भनेर नेपाल क्रिकेट संघ (क्यान)सँग पुबुदुले छलफल सुरु गरिसकेका छन् । यसमा उनले क्यानलाई व्यवस्थित क्रिकेट क्यालेन्डर बनाउन सुझाव दिएका छन् । पूरा वर्षलाई सिजनमा रुपान्तरण गरी कुन समयमा कुन प्रतियोगिता गराउने भनेर क्यान प्रष्ट हुनुपर्ने पुबुदुको भनाइ छ । 

‘धेरै योजना बोकेर म नेपाल फर्किएको हो । क्यानका पदाधिकारीसँगको छलफलमा मैले आफ्ना योजनाबारे बताएको छु । वहाँहरू सकारात्मक हुनुहुन्छ । नेपाली क्रिकेटका सबै पक्षले मिलेर काम गर्ने हो भने, हामीले यो देशको क्रिकेटलाई फरक उचाइमा पुर्‍याउन सक्छौँ,’ पुबुदुले भने । 

पहिलो बसाइमा नेपाली क्रिकेटमा आमुल परिवर्तन ल्याएका पुबुदुको पुनरागमन क्यान र खेलाडीबीचको विवादले ओझेलमा पर्‍यो । क्यानविरुद्ध देखिएका खेलाडीको पक्षमा केही नबोलेको आरोप पनि पुबुदुको थाप्लोमा आइपर्‍यो ।

पहिलो बसाइमा नेपालको क्रिकेटमा आमुल परिवर्तन ल्याएका पुबुदुको दोस्रो इनिङ्स समस्यारहित रहेन । उनको पुनरागमन क्यान र खेलाडीहरूबीचको विवादले ओझेलमा पर्‍यो । केन्द्रीय सम्झौताको विषयबाट सुरु भएको विवाद कप्तान परिवर्तनसम्म पुग्यो । ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान बनाइएपछि नेपाली टिमभित्र दुई क्याम्प खडा भएको स्पष्ट देखिन्थ्यो । 

मैदानमा खेलाडीको प्रदर्शनमा कसरी सुधार गर्ने भनेर योजना बोकेर आएका पुबुदु एक्कासी क्यान र खेलाडीबीचको विवादले सिर्जना गरेको दहमा फसे । त्यहाँबाट निस्कन पुबुदुका लागि उनै क्यान र खेलाडीकै सहयोग चाहिएको थियो । पुबुदुको भनाइ मान्‍ने हो भने, दुई पक्षबीचको झगडा साम्य भएको छ । उनी आफैँ पनि दहबाट बाहिर निस्किएका छन् । ‘बीचमा गएर कठिनाइ भोग्नुभन्दा सुरुवातमै यस्तो समस्या समाधान गर्ने मौका पाउनु राम्रो हो । सबै पक्ष सहमतिमा आइसकेका छन् । अब कुनै समस्या छैन,’ पुबुदुले भने ।  

नेपालको क्रिकेटमा ज्ञानेन्द्रको योगदान असाध्यै ठूलो रहेको र उनीप्रति आफ्नो सम्मान रहेको पनि पुबुदुको भनाइ थियो । ‘आफ्ना साथी खेलाडीको माग सम्बोधन गराउन ज्ञानेन्द्रले क्यानसँग टक्कर लिए । यसका लागि उनीप्रति मेरो सम्मान छ । क्यानले खेलाडीको माग पूरा गर्ने भनेको छ,’ पुबुदुले भने,‘ नेपालको क्रिकेटमा ज्ञानेन्द्रको ठूलो योगदान छ । उनीे राम्रो लिडरका रुपमा रहे । तर सन्दीपको नेतृत्वमा पनि नेपाली टिम प्रभावकारी ढंगमा अगाडि बढ्नेवाला छ । सन्दीपले आफूलाई खेलाडीका रुपमा विश्वका ठूला क्रिकेट लिगमा सिद्व गरेका छन् । अब उनको काँधका कप्तानीको जिम्मेवारी आएको छ । यो भूमिका पनि सिद्व हुन उनलाई गाइड गर्न म तयार छु ।’

उसो त क्यानविरुद्ध देखिएका खेलाडीको पक्षमा केही नबोलेको आरोप पुबुदुको थाप्लोमा पनि आइपर्यो । यो आरोपसँग पुबुदु बेखबर छैनन् । ‘म गलतको पक्षमा लाग्दिन । चाहे खेलाडी हुन्, चाहे क्यान, जो सही छ उसकै पक्षमा म उभिन्छु । विगतमा पनि मेरो सिद्दान्त यही थियो । मेरो यो शैलीप्रति सबै खेलाडी परिचित छन्,’ पुबुदुले प्रष्टिकरण दिए । 

हुन त पहिलो बसाइको अन्त्यमा पुबुदु र क्यानबीच नै दरार उत्पन्‍न भएको थियो । यद्यपि उनले गत वर्ष क्यानले मुख्य प्रशिक्षकको खोजी गर्दा आवेदन दिएका थिए । तर क्यानले उनलाई छानेन, बरु डेभ ह्वाटमोरलाई जिम्मेवारी दियो । यसपटक भने पुबुदुको पुनरागमन लक्ष्य सफल भयो । ‘यसपालि आवेदन दिन त्यति धेरै इच्छुक थिइँन । किनभने क्यानले मलाई छनौट गर्छ भन्‍ने विश्वास थिएन । तर नेपाली क्रिकेटमै रहेका मित्रहरूले आवेदन दिन आग्रह गरे । जे होस्, अहिलेको क्यानले मेरो क्षमतालाई विश्वास गरेको पाएँ,’ पुबुदु भन्छन् ।
पुबुदु चाहन्छन्, नेपाली क्रिकेटमा सकारात्मक वातावरण सिर्जना होस् । ‘क्यान, खेलाडी र समर्थक एक ठाउँमा रहनुपर्छ । नेपाली क्रिकेटमा सकारात्मक वातावरण सिर्जना गर्न मिडियाले पनि साथ दिनुपर्छ । यसो भएमा क्रिकेट सहज ढंगले अघि बढ्न सक्छ,’ पुबुदुले भने । 

जसरी पहिलो पटक नेपालको मुख्य प्रशिक्षक बन्दा पुबुदुमा जोश थियो, उनी अहिले पनि उही जोशमा छन् । बस, लक्ष्य फेरिएको छ । यसको कारण नेपाली क्रिकेटको फेरिएको स्तर हो । सन् २०१० को दशकमा नेपालको सपना टी-ट्वान्टी विश्वकपमा खेल्नु थियो । ओडीआई मान्यता पाउनु प्राथमिक लक्ष्य थियो । यी दुवै पूरा भइसकेका छन् । अब चुनौती छ त केवल प्राप्त उपलब्धि बचाउने र निमार्ण गरिएको क्रिकेटको जगमाथि सुन्दर घर निर्माण गर्ने । यसका लागि पुबुदु सिकर्मी बन्‍न तयार भएर आएका छन् । 


Author

प्रविणबिक्रम कट्‍वाल

समसामायिक विषयमा कलम चलाउने कटवाल खेलकुद ब्यूरो चिफ हुन्।


थप समाचार
x