क्रिकेट

धनगढीमा सुरु विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा विद्या भूषणको विजयी सुरुवात

नवराज पनेरु |
फागुन १५, २०७७ शनिबार १७:४० बजे

धनगढी : धनगढीमा शनिवारदेखि सुरु भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगमा विद्या भूषणले विजयी सुरुवात गरेको छ । धनगढीको लिटल फ्लावरलाई ७ विकेटले पराजित गर्दै कैलालीकै गेटामा रहेको विद्या भूषणले विजयी सुरुवात गरेको हो । 

टस जितेर ब्याटिङ गरेको लिटल फ्लावरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५२ रन बनायो । उस्का लागि सुवास ऐरले ३७, नरेन भट्टले ३६, कप्तान विपिन रावलले १५ र राजकुमार शाहले १२ रन बनाए । बलिङमा विद्या भूषणका शेर मल्लले ३, विरेन्द्र नाथ र प्रदिप चन्दले २/२ तथा सञ्‍जय केसीले १ विकेट लिए । 


१ सय ५३ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको विद्या भूषणले १७ दशमलव ५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । विद्या भूषणका सुरुवाती ब्याट्सम्यान शेर मल्ल र विरेन्द्र नाथले १ सय २२ रनको साँझेदारी गरे । मल्लले ७० र नाथले ३७ रन बनाए । नरेन साउँदले अविजित रहदै २६ रन बनाए । लिटल फ्लावरका राजकुमार शाहले २ र विपिन रावलले १ विकेट लिए पनि टीमलाई जिताउन सकेनन् । म्यान अफ द म्याच विद्या भूषणका शेर मल्ल भए । 

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघीयय प्रहरी इकाइ कार्यालयको खेल मैदानमा सुरु प्रतियोगिताको धनगढी उपमहानगरपालिकाका मेयर नृपवहादुर ओडले उदघाटन गरेका थिए । प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता छ । काठमाडौँ र कञ्चनपुरका २÷२, रुपन्देही र दाङका एक÷एक र कैलालीका १० विद्यालयको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई जनही ५/५ हजार प्रदान गरिने छ । म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् ।
 


Author

थप समाचार
x