सुन्दरी प्रतियोगितामा सहभागी किशोरीमाथि बलात्कार भएको घटनामा गृहले भन्यो– हदैसम्मको कारबाही हुन्छ
काठमाडौं– गृह मन्त्रालयले आठ वर्षअघि सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीलाई बलात्कार गर्ने आयोजकलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ ।
शनिबार एक वक्तव्य जारी गर्दै काठमाडौंमा कन्सल्टेन्सीसमेत सञ्चालन गर्दै आएका ती आरोपितमाथि छानबिन गरी सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही गर्न पनि सरकार प्रतिबद्ध रहेको जनाएको हो ।
‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रकाशित महिला हिंसा सम्बन्धी सामग्री सम्बन्धमा शुक्रबार प्रतिनिधि सभा बैठकमा सासंदहरूले उठाएको विषयमा सभामुखले गर्नुभएको रूलिङ, नागरिक समाजबाट कारबाहीका लागि प्रदर्शन र दबाबका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता विषयमा शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध छ।’
मन्त्रालयले प्रहरी प्रधान कार्यालय काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको छ ।
‘उक्त समितिले काम सुरू गरिसकेको अवस्था छ। उक्त समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्नुहुन गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
मिस ग्लोबल इन्टरनेसनल २०१४ मा सहभागी एक प्रतियोगीले मोडल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेले आफूलाई बेहोस हुने औषधी पेय पदार्थमा मिसाएर खुवाई बलात्कार गरेको केही दिनअघि सामाजिक सञ्जाल टिकटक मार्फत् सार्वजनिक गरेकी थिइन् ।
उनी त्यति बेला नाबालिग थिइन् । १६ वर्षकी मात्र थिइन् ।
याे विषय शुक्रबार संसदमा पनि उठेको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै यसमा छानबिन गर्न र सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएका थिए ।
घटना सार्वजनिक भएपनि बलात्कारसम्बन्धी हद म्यादका कारण जाहेरी दर्ता गर्न नमिलेको पीडित युवतीले बताएकी थिइन् ।
किशोरीमाथि बलात्कार गर्ने ती आयोजकमाथि कडाभन्दा कडा कारबाही र बलात्कारको मुद्दामा हदम्यादको कानुनी प्रावधान हट्नुपर्छ भन्दै अहिले काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । पीडित युवतीका लागि न्याय माग्दै ‘जस्टिस फर सुस्मिता’ ह्यासट्याग पनि चलाइएको छ ।
शनिबार देशको संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा किशोरीको न्यायका लागि प्रदर्शन भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया