अपराध

९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने इटहरीका तत्कालीन प्रिन्सिपल पक्राउ

इकागज |
जेठ १२, २०७९ बिहिवार १७:८ बजे

फाइल फोटो

काठमाडौँ - पाँच वर्ष अघि कक्षा ९ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । 

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कूलमा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । उनलाई टोखा नगरपालिकास्थित बानियाटार डेराबाट पक्राउ गरिएको हो ।


ती छात्रालाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर बलात्कार गर्दै आएका थिए । पक्राउ परेका खड्कालाई थप अनुसन्धानका लागि सुनसरी पठाइने सीआईबी प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिए । 

२६ साउन २०७४ मा धरान उपमहानगरपालिका–१० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेष्ट हाउसमा लगेर प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए । त्यसपछि उनले धम्की दिनुका साथै मानसिक तनाव दिँदै पटक–पटक जबरजस्ती करणी गर्दै आएका थिए । त्यसपछि पीडितले २ भदौं २०७५ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा खड्काविरुद्ध जाहेरी दिएकी थिइन् । 

लामो समयसम्म पनि प्रहरीले खड्कालाई पक्राउ गर्न सकेको थिएन । काठमाडौँमा सौन्दर्य प्रतियोगिता आयोजना गरेर सहभागीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि पीडितले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् । त्यसपछि प्रहरी उनलाई खोज्न तत्पर देखिएको थियो । 

होस्टलमा बसेका बेला उनको छातीमा समस्या देखिएको थियो । उपचार गराउन विदेशबाट उनका बुबाले प्रिन्सिपलको खातामा पैसा पठाईदिएका थिए । पैसा पठाईदिएर उनलाई प्रिन्सिपलसँग अस्पताल जानु भनेका थिए । प्रिन्सिपल खड्काले उनलाई अस्पताल नलगी सिधै होटलमा लगेर बलात्कार गरेको भन्दै केही दिन अगाडि मात्रै पीडित युवतीले सामाजिक सञ्जालमार्फत उक्त कुरा सार्वजनिक गरेकी थिइन् । 

बुबाआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरेर प्रिन्सिपल खड्काले घरपरिवारको पनि विश्वास जितेका थिए । तर, त्यही विश्वासको आडमा अस्पताल लैजान्छु भनेर होटलमा लगेर उनको स्कूलको पोशाक च्यातेर बलात्कार गरेका थिए । 

त्यतिबेला उनी १५ वर्षकी थिइन् । बलात्कार गरेपछि उनले भिडियो बनाएका थिए र पछि त्यो भिडियो देखाएर ब्ल्याकमेल गर्दै पटक पटक बलात्कार गर्दै आएको पीडितको भनाइ थियो । 

प्रहरीमा उनीविरुद्ध बलात्कार मुद्दामा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गर्न सकेको थिएन । 
 


Author

थप समाचार
x