अपराध

संखुवासभाका एकै परिवारका ६ जनाको हत्यामा संलग्‍न चार जनालाई आजीवन काराबास

इकागज |
असार २१, २०७९ मंगलबार १६:२० बजे

फाइल फोटो

संखुवासभा - जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चार जनालार्ई आजीवन काराबासको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संलग्न चार जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको हो ।  

२०७८ भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँच जनालाई कसूरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसद गौतमले जानकारी दिए । 


हत्यामा संलग्न मादी –१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन काराबास र १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको श्रेस्तेदार गौतमले बताए । 

जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले सोही दिन मृतक परिवारको राहत कोषमा चार जनाले दुई, दुई लाख क्षतिपूर्ति र पीडित राहत कोषमा रकमसमेत जम्मा गर्ने आदेश भएको जिल्ला अदालत संखुवासभाले जनाएको छ । उनीहरु सबै मृतक तेजबहादुर परिवारकै नाताका व्यक्ति हुन् । जिल्ला प्रहरी संखुवासभाले पनि चार जनाविरुद्ध आजीवन काराबास सजाय माग दाबी गरेको थियो ।

गत २०७८ भदौ २१ उम्लिङ खोला गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, ८ वर्षका विपीन र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्यामा संलग्न भएका १७ वर्षीय नरेशलाई बाल सुधारगृह भक्तपुर र अन्य चार जनालाई जिल्ला कारागार खाँदबारीमा राखिएको थियो । रासस


Author

थप समाचार
x