एक वर्षीया शिशु अपहरणमा संलग्न दुईजना भारतबाट पक्राउ
विराटनगर- एक वर्षीया शिशुको अपहरणमा संलग्न रहेका दुईजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । सोमबार विहान ९ बजे विराटनगर महानगरपालिका-१२ रोडषेश चोकबाट अपहरणमा परेकी एक वर्षीया निकिशा यादवलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरी अपहरणमा संलग्न रहेका दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङकै बुढीगंगा गाउँपालिका-१ का दिपेन यादव र ममता यादवकी एक वर्षीया छोरी निकिशालाई विराटनगर-६ रामपुर चोक बस्ने २७ वर्षीय रविन्द्रकुमार साहको योजनामा विराटनगर-५ कारखाना टोलकी २७ वर्षीया अनु साहले अपहरण गरेर भारत पुर्याएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार अपहरणको योजनाकार देखिएका रविन्द्रले अपहरणपछि १५ लाख रुपैयाँसम्म फिरौती असुल गर्ने उद्देश्यले अनुलाई सहयोगी बनाएर शिशुको अपहरण गरेको जानकारी दिए । प्रहरीका अनुसार अनुले शिशुका बाबु दिपेनसँग सम्बन्ध बनाएर छोरी हेर्न मन लागेको छ भन्दै रोडषेश चोक बोलाएर अपहरण गरी गाडीमा राखेर भारतको दरभंगा पुर्याएको अनुसन्धानका क्रममा खुलेको बताए ।
दिपेनकी श्रीमती छोरीलाई घरैमा छाडेर काठमाडौँमा बिबिएसको अन्तिम वर्षको अध्ययनका लागि बस्दै आएकी थिइन् । दिपेनले श्रीमती काठमाडौँ भएको मौका छोपेर अनुले उनीसँग सम्बन्ध बढाएको र रविन्द्रको योजनामा अपहरण गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए । ‘सोमबार विहान ९ बजे अनुले बच्चा अपहरण गरेको दुई घण्टापछि प्रहरीलाई घटनाको खबर प्राप्त भएको थियो । प्रदेश प्रहरी र जिल्ला प्रहरीको टोली तत्कालै परिचालन गरेर अनुसन्धान अघि बढाउँदा रविन्द्रको योजनामा अनुलाई प्रयोग गरेर अपहरण गरेको प्रारम्भिक सूचना प्राप्त भएको छ,’ कोइरालाले भने, ‘अनुसन्धानका क्रममा मंगलबार रविन्द्रलाई नियन्त्रणमा लिएका थियौं, उनले दिपेनसँग पैसा माग्ने उद्देश्यले अपहरणको योजना बनाएको देखिएको छ ।’
एसपी कोइरालाका अनुसार विराटनगरको रोडषेश चोकबाट शिशु अपहरण गरेकी अनुले रविन्द्रकै योजनामा गाडीमा हालेर भारतको दरभंगास्थित विकास साहको घरमा लगेर राखेको जनाइएको छ । विगतदेखिकै सम्बन्धका कारण दिपेनले आफ्नी छोरीलाई अनुलाई देखाउन लिएर गएको तर अनुले भने अपहरण गरेर दरभंगा पुर्याएको अनुसन्धानका क्रममा खुलेको छ ।
सानैमा आमाले छाडेर हिँडेका कारण एक वर्षीया शिशुमा जोसँग पनि मान्ने स्वभाव देखिएको प्रहरीले जनाएको छ । अपहरणमा संलग्न रहेका रविन्द्र र अनु साहले विराटनगरमा बच्चालाई विराटनगरबाट सुनसरीको इनरुवा हुँदै मोटरसाइकलमा लगेर राजविराजस्थित कुनौली नाकाबाट भारत पुर्याएका थिए । भारत पुगिसकेपछि अनुले भारतीय गाडी रिजर्भ गरेर दरभंगा पुर्याएको प्रहरीले जानकारी दिएको छ ।
अपहरणमा संलग्न रहेका दुवैलाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान अघि बढाइने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया