अपराध

युरेनियमजस्तो पदार्थ बिक्री गर्न खोज्‍ने १५ जना पक्राउ

इकागज |
साउन ४, २०७९ बुधबार १८:२ बजे

विराटनगर- विराटनगरमा करिब दुई किलो युरेनियमजस्तो देखिने पदार्थको धुलो बिक्री गर्ने १५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

आइतबार विराटनगर-९ ट्राफिक चोकस्थित ठुल्दाई होटलमा बस्दै भारतीय व्यक्तिहरुलाई लक्षित गरेर उक्त धुलो बेच्‍न खोज्‍ने ८ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । त्यसैगरी विराटनगर-३ दुधफारमबाट थप सात जनालाई धुलोसहित पक्राउ गरिएको जानकारी दिए ।


विशेष सूचनाको आधारमा ठुल्दाई होटलबाट पक्राउ पर्नेमा मोरङको धनपालथान-७ का शिवशंकर पासवान (४१), प्रदीप पुरी (४३) र लक्ष्मण शर्मा (४४), वडा नं. ४ का मुकेश कुमार साह (३७), कटहरी-२ बस्‍ने दिलिपकुमार शर्मा (४०), विराटनगर-१२ बस्‍ने फटिक कुमार कार्की (४६), सोलुको माप्य दुधकोशी-७ का ३५ वर्षीय गोपाल मगर र खोटाङको हलेसी तुवाचुङ-९ का किरन राई (३२) रहेको जनाइएको छ ।

उनीहरुले हट ब्याग जस्तो झोलाभित्र टल्किने एक किलो ८७ ग्राम धुलो राखेर युरेनियम हो भन्दै भारतीय ग्राहकहरुलाई सम्पर्कमा बोलाउने र बिक्री गर्ने योजना बनाइरहेको अवस्थामा पक्राउ गरेको प्रहरी उपरीक्षक कोइरालाले बताए ।

त्यसैगरी युरेनियमको धुलो भन्दै दुधफारामबाट ९७८.६ ग्राम उक्त धुलोसहित मंगलबार सातजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको गण्डकी-८ का जीवन गुरुङ (४५), महोत्तरीको मड्डा-६ का अब्दुल गनी खान (४२), बर्दीबास-१२ का चन्दन कुमार महतो (३०), मोरङको ग्रामथान–३ बस्ने रविन्द्र गच्छदार (५५), मकवानपुर बाग्मती-५ का दिपक बहादुर भ्लोन (३६), महोत्तरी मनराषिशवा-३ का उमेश प्रसाद यादव (४९) र सिन्धुलीको कमलामाई-५ का श्याम घिमिरे (२८) रहेका छन् । 
उनीहरुको साथबाट नियन्त्रणमा लिइएको धुलो कस्तो पदार्थ हो भन्‍ने पत्ता लगाउन परीक्षणका लागि विधी विज्ञान प्रयोगशाला पठाइएको जनाइएको छ । पक्राउ परेका १५ जनालाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ ।

प्रहरी स्रोतका अनुसार उक्त पदार्थ बिक्री गराउनका लागि समूह-समूहमा परिचालन हुने गरेको र त्यसको विक्रेता मुख्य डिलर भने एउटै रहेको आशंका व्यक्त गरेको छ ।


Author

थप समाचार
x