चितुवाको छालासहित दुई पक्राउ
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले चितुवाको छालासहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ । कृष्णपुर नगरपालिका–३ देखतभुलीस्थित निरञ्जन मल्लको खेतमा लुकाइराखेको अवस्थामा बुधबार साँझ दुई वटा वयस्क चितुवाको छाला सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी बरामद गरिएको छाला र पक्राउ परेको दुवै जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका–३ काँडेकी ४० वर्षीय मालती मल्ल सेठ्ठी र अमरगढी नगरपालिका–२ जोसिनाका २९ वर्षीय मोहन सार्की रहेका छन् । बरामद गरिएको एउटा छालाको लम्बाइ ८ फिट ८ इन्च र चौडाइ ३ इन्च तथा अर्को छालाको लम्बाइ ७ फिट २ इन्च र चौडाइ २ फिट ८ इन्छ ।
दुईवटा छाला वयस्क चितुवाकै भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त छाला सुदूरपश्चिमकै पहाडी क्षेत्रबाट आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए । बोराभित्र बाँधेर खेतमा लुकाएको अवस्थामा बरामद गरेको डिएसपी शाहले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया