अपराध

मकवानपुर प्रहरीद्वारा पाँच जना नियन्त्रणमा

इकागज |
साउन १६, २०७९ सोमबार २०:० बजे

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले गैरकानुनी गतिविधिमा संलग्न रहेको भन्दै ५ जनालाई नियन्त्रणमा लिएको छ ।             

प्रहरी चौकी पदमपोखरी र जिल्लाप्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा १२ सोल्टी चोक बस्ने वर्ष २४ का गोरे भाइ भन्‍ने अमित लामाको घरमा तलासी गर्दा अनरेक्स फेला पारेको हो । 


दानाको बोरा भित्र प्लाष्टिकको झोलामा लुकाई राखेको अवस्थामा लागूऔषध अनरेक्ससहित लामालाई नियन्त्रणमा लिएको हो । उनको घरबार १०० मिलिको १४८ बोतल फेला पारेको प्रहरीले बताएको छ । उक्त लागूऔषध र लामामाथि अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए । 

यसैगरी प्रहरीले लागूऔषध अनरेक्सकाे १३ बोतलसहित ४ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौडा मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा ४ चिल्ड्रेन पार्क स्थित चौतारी होटलबाट ४ जनालाई नियन्त्रणमा लिएको हो । 

हेटौंडा २ बस्ने ४९ वर्षीय राजेश श्रेष्ठ, हेटौंडा ४ बस्ने ५४ वर्षीय रामकाजी श्रेष्ठ, हेटौंडा १३ बस्ने २६ वर्षीया आहाना भन्‍ने अल्बिना तामाङ, र हेटौंडा १२ घर भई हेटौंडा ११ मा डेरा गरी बस्ने २५ वर्षीया ईशा घलानलाई नियन्त्रणमा लिएको हो । उनीहरु मध्ये राजेश श्रेष्ठको साथबाट लागूऔषध अनरेक्सको १३ बोतल फेला पारेको प्रहरीले जनाएको छ । 

उक्त लागूऔषधको बारेमा सोधपुछ गर्दा उनीहरु चारै जना मिलि ल्याएको भन्ने बयान दिएपछि सबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको कार्कीले बताए ।

यसैगरी प्रहरीले भन्सार छलि ल्याएको अवैध कपडा र व्यक्ति नियन्त्रणमा लिएको छ।  प्रहरीले हेटौंडाको रातोमाटे चौकीमा जाँच गर्दा अवैध कपडा फेला पारेको हो । हेटौंडा १५ रातोमाटे चेक पोईन्ट सडकखण्डमा बिरगंजबाट हेटौडा तर्फ आउँदै गरेको बा ५ ख २४६८ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गर्ने क्रममा बसको डिकी र छतमा ७ बोरा विभिन्न प्रकारको कुर्ता सुरुवाल तथा साडीहरू फेला पारेको हो । 

कुर्ता सुरुवाल ५८ पिस, साडी २९३ पिस, र सेन्डो गन्जी ३०० पिस फेला परेको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार कपडा ल्याउने व्यक्ति भने पहिचान भएको छैन ।


Author

थप समाचार
x