अपराध

क्यानडा पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने पक्राउ

इकागज |
साउन २०, २०७९ शुक्रवार २१:५ बजे

काठमाडौँ- क्यानडा पठाइदिन्छु भन्दै रु ७ लाख ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसेका ४७ वर्षीया छिरिङ डोमा शेर्पालाई आज प्रहरीले पक्राउ गरेको छ । क्यानडामा दुई लाख बढी तलब हुन्छ भनी प्रलोभनमा पारेर एक व्यक्तिको रु ७ लाख लिई सम्पर्कविहीन भएको भन्ने जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खोजतलासमा खटिएको टोलीले गोकर्णेश्वरको अत्तरखेलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा पठाइएको छ । 


यसैबीच भारतबाट भन्सार छलि ल्याएको विभिन्न कम्पनीको मोबाइलसहित काठमाडौँ गौशाला बस्ने भारतको पञ्जावस्थित जालन्धर घर भएका ३५ वर्षीय सन्दीप अहुजालाई आज प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट गौशालास्थित होटेल कल्चर इनको कोठा नम्बर २०३ मा भन्सार छलेर ल्याइएको १२ थान मोबाइल बरामद गरिएको छ । 

त्यसैगरी बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका-१६ बालाजु बस्ने बागलुङका ४६ वर्षीय जायश्वर घिमिरेलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको गत असार २८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र रु १४ लाख जरिवानाको सजाय ठहर गरेको थियो । 

त्यसपछि फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले लैनचौरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x