मापसे गरी बस चलाउने दुई चालकलाई अभद्र व्यवहारमा मुद्दा
फाइल फोटो
काठमाडौँ - ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी बस चलाउने दुई चालकलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे सेवन गरी सवारी साधन चलाएका दुई चालकलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले पक्राउ गरी मुद्दा चलाएको हो ।
मुद्दा चलाएका चालकमा बा३ख ४३८३ नम्बरको भाडा बसका चालक धादिङ बेनीघाट रोराङ गाउँपालिका घर भई हाल काठमाडौँको टोखा बस्दै आएका सरोज श्रेष्ठ र बा२ज ५६१५ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक धुलिखेलका अनिल धिताल रहेका छन् ।
कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरीले चलाएको रात्रिकालीन चेकजाँचका क्रममा मापसे सेवन गरी ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले मुद्दा चलाइएको जानकारी दिए ।
मुद्दा चलाएका श्रेष्ठलाई प्रहरी वृत्त कीर्तिपुरले अभद्र मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्नुका साथै धिताललाई प्रहरी वृत्त जगातीले अभद्र मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए ।
चालकले मापसे गरेर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको र सम्भावित दुर्घटनालाई रोक्नका लागि ट्राफिक चेकजाँचलाई तीव्रता दिएको सो कार्यालयले जनाएको छ ।
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया