भिजिट भीसाको नाममा बेचबिखन, ५ लाखमा बेचिइन् नेपाली चेली
काठमाडौं– मानव वेचबिखनमा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको गल्कोट नगरपालिका–११ की ३२ वर्षीय निरु लामा पक्राउ रहेकी छिन् । काठमाडौँको तारकेश्वरमा बस्दै आएकी लामालाई प्रहरीले पक्राउ गरेको हो ।
निरुले पीडितलाई फ्रि भीसा र फ्रि टिकटमा नेपाल सरकारले घरेलु कामदार पठाउन रोक लगाएको देश कुवेतमा मासिक १२० कुवेती दिनार (नेपाली पचास हजार) कमाई हुने गरी काममा पठाई दिने प्रलोभन देखाएकी थिइन् ।
पीडित कुवेत जान भनी वैैशाख ०३ गते गाँउबाट काठमाडौं आएकी थिइन् । उनलाई निरुले नयाँबसपार्कमा रहेको होटलमा राखी बैशाख २२ गते भिजिट भिसामा काठमाडौंबाट दुवई हुदै कुवेत पठाएको प्रहरीले जनाएको छ । कुवेतमा रहेको आफ्ना सहयोगीहरु मार्फत कुवेती घर मालिकहरुको घरमा घरायसी कामकाज गर्ने गरी पीडितलाई कुवेती दिनार १२०० मा बिक्री गरेको खुल्न आएको नेपाल प्रहरीको मानव बेचबिखन व्युरोका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।
‘शाररिक तथा मानसिक यातना दिई बन्धक बनाई जबरजस्ती श्रम शोषण गरी राखियो,’ पीडितले प्रहरीसामू भनेकी छन्, ‘बिरामी भई काम गर्न नसक्ने भएँ, नेपाल फर्कन्छु भन्दा तीन लाख पाँच हजार रुपैयाँ मागियो ।’ निरुले कुवेतमा नै बन्धक बनाई राख्न लगाएकाले श्रीमानले पीडितलाई उद्दार गरी नेपाल ल्याउन ब्युरोमा अनुरोध गरेका थिए । उनलाई शक्ति समूहको सहयोगमा साउन ८ गते उद्दार गरी नेपाल फिर्ता ल्याईएको मल्लले बताए ।
नेपाल फिर्ता भएपछि पीडितले मानव वेचबिखन तथा ओसारपसार मुद्धामा उजुरी दिएका आधारमा पीडक लामालाई साउन २० मा पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौमार्फत जिल्ला अदालतमा अभियोग दर्ता गराई लामालाई भदौ १५ कोे आदेश अनुसार दुईलाख रकम धरौटी माग भएको छ ।
यस घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास र थप अनुसन्धान भईरहेको मल्लले जानकारी गराए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया