अपराध

अमेरिकाबाट गाँजा पार्सल आएपछि...

इकागज |
भदौ २१, २०७९ मंगलबार १८:० बजे

काठमाडौँ - अमेरिकाबाट आउने पार्सल केही बहुमूल्य चिज होला भन्ने जो कोहीलाई पनि लाग्न सक्छ । केही नेपालीका सपनाको गन्तव्य मुलुक त्यसमाथि शक्तिमान राष्ट्र, अमेरिका । नेपाली नागरिकले त्यहाँबाट आउने उपहार नौलो र रोचक हुने अनुमान गर्नु स्वभाविक पनि हो तर त्यही मुलुकबाट गाँजा पार्सल गरी सरकारी निकाय हुलाकमा आउँछ भन्ने कुरा धेरैलाई थाहा नहुने सक्छ । बाह्य मुलुकबाट यसरी सानो परिमाणमा लागुऔषध भित्रिएका घटना बेलाबेलामा सुनिएको हो ।

यसपटक भने झण्डै दुई किलो गाँजा त्यसैगरी हुलाक हुँदै नेपाल भित्रिएको छ । उक्त पार्सल अनुसन्धानका लागि प्रहरीले बरामद गरी त्यसमा संलग्न रहेका तीन व्यक्तिलाई पक्राउ गरेको छ । त्यसका मुख्य कारोबारीको हुन् भन्ने विषयमा भने अझै अनुसन्धान कै क्रममा रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । 


घटना यही सोमबारको हो । गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा अमेरिकाबाट गाँजा हालेर उपहारका रुपमा पार्सल आयो । कुनै व्यक्तिको नाममा उपहार भनेर उक्त पार्सल आएको थियो । हुलाकमा प्रहरी टोली खटाइँदै आएको छ । उक्त पार्सल मेसिनमा स्क्रिनिङ गर्दा असहज देखियो । `अनुसन्धानका क्रममा भित्र गाँजा भएको खुल्यो, त्यसपछि अनुसन्धानलाई थप बलियो बनाउँदै मान्छे समाउन लाग्यौँ”, खड्काले भने, “लिन आउने व्यक्तिलाई नियन्त्रणमा लिएर थप व्यक्ति खोज्न थाल्यौँ ।`

हुलाकमा उक्त पार्सल लिन काभ्रेको माण्डनदेउपुर नगरपालिका–७ का २८ वर्षीय मनोज राई आए । हुलाकबाट पार्सल रिसिभ गर्ने बित्तिकै उनी पक्राउ परे । त्यहाँ थियो दुई किलो गाँजा । सुरुमा उनले केही कुरा खुलाएनन् । विस्तारै सोधपुछका क्रममा राईबाट काठमाडौँ महानगरपालिका–१ नक्सालका ३० वर्षीय अङ्कितकुमार श्रेष्ठ पनि यसमा संलग्न रहेको कुरा खुलेपछि काठमाडौँको खुस्बुबाट पक्राउ परे । थप अनुसन्धान गर्दै जाँदा मनोजलाई रु ३० हजार दिने शर्तमा राहुल र अङ्कीतले परिचालन गरेको पत्ता लाग्यो । तत्कालै प्रहरीले काठमाडौँको नक्सालबाट क्षेत्रीलाई पनि पक्राउ गर्‍यो । यो पार्सल उनीहरुमा मात्रै सीमित छैन । उनीहरु पहिलो तहका संलग्न व्यक्ति हुन् । गाँजा मगाउने मुख्य व्यक्ति को हुन् प्रहरीले अझै खुलाएको छैन तर पार्सल तीनै जनाको मिलेमतोमा भित्र्याइएको पाइएको छ । 

यसरी बनेको थियो त्रिपक्षीय योजना

धेरै पहिलेदेखि नै राहुल र अङ्कित साथी थिए । उक्त पार्सल मगाउने राहुलले अङ्कितको नाममा मगाउन प्रस्ताव गरेर तर राहुलले पक्राउ पर्ने डरले मानेन् । बरु चिनजानको अर्को साथीको नाम लिँदै उनको नाममा मगाउन प्रस्ताव गरे । उनको नाम हो मनोज राई । मनोजको नाममा पार्सल मगाउने अङ्कित र राहुलको सहमतिमा मनोज पनि राजी भए । 

विगतमा मनोज ठमेलको एक पबमा काम गर्थे । उक्त पबका अङ्कित नियमित ग्राहक थिए । विस्तारै उनीहरुको चिनाजान साथीमा परिणत भयो । बन्दाबन्दीमा समयमा पब बन्द भएपछि राईलाई अङ्कितले नयाँ जागीर लगाइदिएपछि उनीहरुको सम्बन्ध घनिष्ट भयो । त्यसैले उनीहरुले मनोजलाई प्रयोग गरेर उनको नाममा पार्सल मगाउन सफल भएका थिए । रासस


Author

थप समाचार
x