अपराध

पाँच सयदेखि एक हजार रुपैयाँमै बन्छन् नक्कली शैक्षिक प्रमाणपत्र

इकागज |
भदौ २२, २०७९ बुधबार १३:१३ बजे

काठमाडौं -  नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जेनरल फोटो स्टुडियोका सञ्चालिका ४३ वर्षीया सुमित्रा कोईराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका–४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका सञ्चालक २४ वर्षीया फुल्हमु तामाङ रहेका छन् । 

काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीमा सञ्चालित विभिन्न फोटो स्टुडियोहरूले एसएलसी, प्लस टु उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 


उनीहरूले खाडी मुलुकमा बैदेशिक रोजगारीमा जाने व्यक्तिहरूबाट ५ सय देखि १ हजार रुपैयाँसम्म लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

ती फोटो स्टुडियोहरूबाट प्रहरीले ४ थान कम्प्युटर, ४ थान मोनिटर, २ थान पेन ड्राइभ, ४ थान कलर प्रिन्टर र ६ थान विभिन्न नक्कली सर्टिफिकेट समेत बरामद गरेको छ । 

उनीहरूलाई लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान एवं आवश्यक कारवाहीका लागि प्रहरी बृत्त गौशाला पठाइएको छ ।


Author

थप समाचार
x