अपराध

मकवानपुर प्रहरीद्वारा लागूऔषध र कारसहित तीनजना नियन्त्रणमा

इकागज |
भदौ २३, २०७९ बिहीबार २०:९ बजे

मकवानपुर- मकवानपुर प्रहरीले लागूऔषध र कारसहित तीन जना युवालाई पक्राउ गरेको छ । 

बिहीबार छुट्टाछुट्टै स्थानमा मकवानपुर प्रहरीले कारभित्र १६० किलो लागूऔषध गाँजा, डाईजेपाम ट्याब्लेट १८३१ पिस र ७७ बोलत वनरेक्ससहित ती युवाहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।


बिहीबार बिहान मकवानपुरको पालुङ तर्फबाट हेटौंडा आउँदै गरेको  बा २० च ६८ नम्बरको हुण्डाई कारलाई प्रहरी चौकी भैसैको टोलीले रोक्न खोज्दा भागेको र त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१  बागझोरामा नियन्त्रण लिइ चेकजाँच गर्दा कारभित्र पोका पारेको अवस्थामा १६० किलो लागूऔषध गाँजा बरामद गरेको मकवानपुरका एसपी बामदेव गौतमले पत्रकार सम्मेलनमा बताए । 

प्रहरीले गाँजासहित कार चालक चितवन भरतपुर महानगरपालिका-२४ बस्ने ४३ वर्षीय टेकबहादुर गुरुङलाई पक्राउ गरेको जनाइएको छ । प्रहरीले निजको साथबाट बिभिन्न दरको स्रोत नखुलेको १३८००० रुपैयाँ पनि बरामद गरेको जनाएको छ ।

त्यसैगरी मकवानपुर प्रहरीले हेटौंडा-५ सिचाईटोलबाट लागूऔषध नाईट्राभेट,वनरेक्ससहित ३ युवालाई पक्राउ गरेको छ । 

प्रहरीले हेटौंडा सिँचाइ टोल बस्ने ३१ वर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागूऔषध लुकाई छिपाई राखी बिक्री/वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा घरमा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा लागूऔषध नाईट्रोभेट-३१६ ट्याब्लेट र वनरेक्स १०० एमएल को  १४ बोत्तल फेला परेको हो । 

एसपी गौतमका अनुसार निज खेम्कालाई नियन्त्रणमा लिई तत्काल सोधपुछ गर्दा सोही स्थान बस्ने २६ वर्षीय रविन श्रेष्ठ र  मकवानपुर भिमफेदी गाउँपालिका-५ घर भई हाल हेटौंडा ५ सिँचाइ टोल डेरा गरी बस्ने  ३० वर्षीय प्रमोद कार्कीको संलग्‍न रहेको जानकारीपछि खोजी गर्दा रविन श्रेष्ठ र कार्कीको कोठा खानतलासी गर्दा प्रमोद कार्कीको कोठामा लुकाई राखेको अवस्थामा लागूऔषध नाईट्राभेट- १५४५ ट्याब्लेट र वनरेक्स १०० एमएल  ६३  बोत्तल फेला पारिएको हाे । 

पक्राउ परेका चारैजना माथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए । मकवानपुर प्रहरीले पक्राउ परेका सबैलाई बिहीबार अपरान्ह पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।


Author

थप समाचार
x