अपराध

भिसा लिन नक्कली प्रमाणपत्र, डिभी परेका सातजना अमेरिकी दूतावासबाटै पक्राउ

इकागज |
असोज ६, २०७९ बिहीबार २०:५४ बजे

काठमाडौं - नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । बुधबार नक्कली शैक्षिक प्रमाणपत्रसहित अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेका सात जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

भिसा प्रयोजनका लागि १० जोड २ को नक्कली ‘एकेडेमिक ट्रान्सक्रिप्ट’ बनाएको गोप्य सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये केहीलाई अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो भने केही काठमाडौँका अन्य ठाउँबाट पक्राउ परेका हुन् ।


ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पाँचथर मितलाजुनका २५ वर्षीय समिर राई, कास्की पोखराका ४० वर्षीय अरुण कार्की, नुवाकोट बेलकोटगढीकी २५ वर्षीया राधिका तामाङ, स्याङ्जा चापाकोटकी ३८ वर्षीय सबिता श्रेष्ठ छन् । त्यस्तै झापा मेचीनगरका ४६ वर्षीय विदुर प्याकुरेल, काठमाडौं कागेश्वरीका २१ वर्षीय सुरजराज खत्री र अछाम मंगलसेनका २७ वर्षीय वीरेन्द्रबहादुर रावललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट उच्च माध्यामिक शिक्षा बोर्ड, त्रिभुवन विश्वविद्यालय र एनएबीको नाममा जारी नक्कली प्रमाणपत्र बरामद गरिएको प्रहरीले जनाएको छ । 

यस्तै, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न थप दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । झापा बिर्तामोडका वर्ष ४० का दिनेश प्रसाई र दमकका ४८ वर्षीय सूर्यबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 


Author

थप समाचार
x