अपराध

'प्रहरी हुँ' भन्दै ठगी गर्ने दुईजना पक्राउ

इकागज |
असोज १५, २०७९ शनिबार १५:२ बजे

उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगी गर्ने दुईजना युवालाई नियन्त्रणमा लिएको छ ।

सर्वसाधारणलाई धम्की दिँदै आफू सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका–७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका–१२ पुरानो गाईघाटका ३३ वर्षका सन्तोष राईलाई नियन्त्रणमा लिएको हो ।


उनीहरूले चौदण्डीगढी नगरपालिका–८ घर भई त्रियुगा नगरपालिका–१२ त्रिवेणी टोलमा बस्दै आएका राजबल राईलाई नियन्त्रणमा लिई आफूहरू सिभिल प्रहरी हुँ भन्दै जबरजस्ती २० हजार नगद र मुक्तिनाथ विकास बैंकको चेकमा ५० हजार काट्न लगाई हस्ताक्षर गराई रेडमी-८ मोडलको स्मार्ट मोबाइल समेत लगेका थिए । 

नगद तथा चेक मोबाइल लिएर उनीहरू स ३ प ९१५५ नम्बरको मोटरसाइकल चढेर गएका थिए । पीडित राईले ठगीमा परेको भनि जिल्ला प्रहरी कार्यालय उदयपुरमा जानकारी दिएपछि खोजतलासको क्रममा उनीहरूलाई मुक्तिनाथ विकास बैंकको चेक र मोबाइल तथा स ३ प ९१५५ नम्बरको मोटरसाइकलसहित रौतामाई गाउँपालिका–७ मुर्कुची बजारबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत तथा प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारले जानकारी दिए । उनीहरूलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x