छिमेकीकाे हत्या गरी फरार रहेका प्रतिवादी १२ वर्षपछि पक्राउ
अर्घाखाँची- छिमेकीकाे हत्या गरेर फरार भएका अर्घाखाँचीका दुई जना व्यक्तिलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी अर्घाखाँची प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भूमिकास्थान–१०, धनचौर प्यारे निवासी ४० वर्षीय शालिकबहादुर बुढा र ३६ वर्षीय नारायण बुढा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालका अनुसार उनीहरू १२ वर्षदेखि फरार रहेका थिए । प्रहरी निरीक्षक अर्जुन पाैडेलकाे नेतृत्वमा खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
गोप्य सूचनाका आधारमा उनीहरूलाई अर्घाखाँची र कपिलवस्तुको सिमानाबाट पक्राउ गरिएको हो । उनीहरू २०६७ साल माघ २५ गते आफ्नै छिमेकी ४० वर्षीय दधिराम भुसालको हत्या गरेर फरार रहेका थिए ।
जिल्ला अदालत अर्घाखाँचीले २०७५ असार ३ गते हत्यामा संलग्न ९ जनालाई २० वर्ष कैदको फैसला सुनाएको थियो । जसमध्ये ६ जनाले कैद भुक्तान गरिरहेका छन् भने हत्यामा संलग्न १ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई अदालतमा पेस गरी प्रक्रिया अगाडि बढाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया