आपसी विवादपछि सरस्वतीको हत्या भएको बयान
मकवानपुर- मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाकी सरस्वती वाइबाको हत्या भएको प्रहरी बयानमा खुलेको छ ।
मकवानपुर प्रहरीले अन्दाजी ३५ वर्षीया सरस्वतीको हत्या सामान्य विवादपछि भएको मकवानपुर प्रहरीले जनाएको छ । आज पत्रकार सम्मेलन गरेर मकवानपुर प्रहरीले यस्तो जानकारी सार्वजनिक गरेको हो ।
इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी ज्यामिरेमा गत २४ मंसिर स्थानीय सरस्वती वाइबाको शव बारीमा गाडिएको अवस्थामा फेला परेको थियो । हत्यामा संलग्न स्थानीय रोज वाइबालाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार सरस्वती गत मंसिर १३ गतेदेखि बेपत्ता भएकी थिइन् । पत्नी बेपत्ता भएपछि पति वीरबहादुर वाइबाले मंसिर १७ गते खोजतलास गर्न प्रहरी चौकी सिस्नेरीमा निवेदन दिएका थिए ।
मृतकका पति र प्रहरी टोली समेतले खोजतलास गर्दै जाँदा मंसिर २४ गते शनिबार साँझ ७ बजेर ३० मिनेट समयमा शरीरमा लगाएको थोरै लुगा र टाउको देखिने गरी ज्यामिरेस्थित स्थानीय रोज वाइबाको बारीमा गाडिएको अवस्थामा सरस्वतीको शव फेला परेको थियो । तत्काल इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक प्रतिमा कार्कीको कमाण्डमा प्रहरी टोली घटना स्थलमा पुगेर घटनास्थल सुरक्षित राखेको थियो ।
सरस्वतीको शव फेला परेको भोलिपल्ट मंसिर २५ गते आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको कमाण्ड पनि घटनास्थल पुगेको थियो । घटनास्थल पुगेको प्रहरी चौकी सिस्नेरी, इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला प्रहरी कार्यालय टोलीले संयुक्त रूपमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
कार्कीका अनुसार घटनास्थल हेर्दा सरस्वतीको हत्या भएको र उक्त घटनामा संलग्न रहेको आरोपमा आइतबार केही व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा पक्राउ परे रोज वाइबा । जो सरस्वतीको हत्यारा भएको भन्दै प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको रोजलाई पक्राउ पछि सोधपुछको क्रममा रोज आफैँले सरस्वतीलाई मारेर आफ्नै बारीमा खाल्डो खनी पुरेको हो भनि प्रहरी समक्ष स्वीकार गरेको कार्कीले जानकारी दिए ।
प्रहरी समक्षको बयानमा रोजले भने, ‘घटना मंसिर १३ गतेको हो । म बाटोमा जाँदै थिए । उही बेला सरस्वती बाटोमा भेट भयो । मेरो र सरस्वतीबीच सामान्य भनाभन भयो । सोही क्रममा हाम्रो कुटाकुट पनि भयो । कुटपिटका क्रममा सरस्वती ढुंगामा ठोक्किन पुग्यो र उनको त्यही मृत्यु भयो । अनि मैले आफ्नै बारीमा खाल्टो खनेर गाडिदिए ।’
हत्यामा संलग्न रोज वाइबा र मृतक सरस्वती छिमेकी हुन् । पक्राउ परेका वाइबालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरी घटनाको बारेमा आवश्यक अनुसन्धानका साथै कानुनी प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक कार्कीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया