बालक हत्या अभियोगमा पक्राउ परेका भोम्जन सार्वजनिक
मकवानपुर - बालक हत्या अभियोगमा पक्राउ परेका १ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. १६ बस्ने १२ वर्षिय मुस्कान भनिने सुजन थिङको हत्या गरेको अभियोगमा स्थानीय आइत सिं भोम्जनलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
हेटौडा उपमहानगरपालिका वडा नं. १६ बाबियोडांडा बस्ने सुजन थिङको हत्या गरेको अभियोगमा स्थानीय ३८ वर्षिय भोम्जनलाई निजको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार पुस ९ गते दिउँसोदेखि बेपत्ता भएका मुस्कान घरबाट अन्दाजी ३०० मिटर पश्चिममा रहेको जरुङगे सामुदायिक वनमा दुबै हात शरीरको पछाडी पट्टी कपडाको सलले बांधी क्यामुनाको रुखमा सेतो र रातो रंगको खादाले घांटीमा बांधी पासो लगाई झुण्डिएको अवस्थामा पुस १० गते बिहान ७ बजेको समयमा मृत अवस्थामा फेला परेको थियो ।
तालिम प्राप्त कुकुरसहित घटनास्थलम पुगेको प्रहरी नायव उपरीक्षक कार्कीको टोलीले घटनाको प्रारम्भिक अनुसन्धान पश्चात उक्त घटनामा संलग्न हुन सक्ने आंकमा स्थानीय ७ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवशयक अनुसन्धान गरिएको थियो ।
प्रहरीले सोही घटनाको अनुसन्धानको क्रममा पुस १२ गते मंगलबार भोम्जनलाई घरबाटै नियन्त्रणमा लिई सोधपुछ गर्दा मुस्कानको हत्या आफूलेनै गरेको भनि स्वीकार गरेपछि निजलाई सार्वजनिक गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका भोम्जनलाई बुधबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई ६ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार भोम्झनले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम कसुर गरेकोले जन्मकैद सम्मको सजाय हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया