अपराध

हत्या १७ वर्षअघि, आरोपी पक्राउ बल्ल

इकागज |
माघ १५, २०७९ आइतबार १३:५२ बजे

प्रतिकात्मक तस्वीर

भादगाउँ । भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन् ।    
  
चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुई जना पक्राउ परेका हुन् । घटनामा संलग्न एक अझै फरार छन् ।
    
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं १ स्थायी घर भएका सुकमान भन्ने कान्छाराम तामाङ र सोही स्थान बस्ने बहादुर तामाङ रहेका छन् । कान्छाराम त्यसबेला इँटा उद्योगमा पानी पाले र बहादुर सोही उद्योगकै गाडी चालकको काम गर्दथे ।
    
घटना विवरणानुसार २०६२ माघ ३० गते बिहान तत्कालीन ताँथली गाविस–८ स्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा ४१ वर्षीय योगी रगत पक्ष भई अचेत अवस्थामा फेला परेको र उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा थप उपचारका लागि वीर अस्पताल सिफारिस गरियो । उपचारकै क्रममा योगीको वीर अस्पतालमा मृत्यु भएको थियो ।    
    
घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक योगीलाई सोही गणेश इँटा उद्योगका काम गर्ने सुकमान, बहादुर र देवेन्द्र भनिने देव थापाले कुटपिटपछि हत्या गरी घटनापश्चात् फरार भएको भन्ने खुल्न आएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।    
    
घटनामा संलग्नको यकिन ठेगाना खुल्न आएपछि प्रहरीले भक्तपुर जिल्ला अदालतको अनुमति लिई पक्राउ पुर्जीसहित प्रहरी वृत्त जगातिका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनामा मृत्यु भएका योगीका भाञ्जा ईश्वर बस्नेतको किटानी जाहेरीअनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x