अपराध

सवारी चालक र बटुवालाई बाेलाउँदै जंगलमा यौनजन्य क्रियाकलापमा संलग्न ७ महिला पक्राउ

इकागज |
फागुन १५, २०७९ सोमबार १२:१३ बजे

बारा । पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र यौनजन्य क्रियाकलापमा संलग्न ७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पथलैया–अमलेखगञ्ज सडकखण्डमा पर्ने पर्सा निकुञ्जको वन क्षेत्रभित्र घाँस दाउरा गर्ने नाममा महिलाहरूले बाटोमा हिँड्ने बटुवा तथा सवारी चालकहरूलाई बोलाएरै यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 


इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले २० देखि ३५ वर्ष उमेर समूहका वीरगन्जमा डेरा लिई बस्ने महिलाहरू रहेको जानकारी दिए । 

प्रहरीले नियन्त्रणमा लिएका महिलाहरूलाई ५ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको क्षेत्रीले बताए । यसअघि प्रहरीले पटक पटक यस्तो गतिविधि गर्ने महिलाहरूलाई नियन्त्रण लिएर सम्झाई बुझाई गरेर छोड्दा  घटनामा नियन्त्रणमा नआएकाले यसपटक नियन्त्रणमा लिएर म्याद थप गरेको क्षेत्रीले बताए । 

जिल्लाको पथलैया–अमलेखगञ्ज र पथलैया–निजगढ सडकखण्डको जङ्गल क्षेत्रमा बसेर यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले यसअघि पनि पटक पटक महिलाहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छोड्ने गरेका थिए । 

ती महिलाहरू सो सडक खण्डमा घाँस दाउरा गर्ने नाममा बाटो छेउमा बसेर सवारी चालकहरूलाई बोलाउने र थोरै रकम लिएर यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरीले जनाएको छ । 

सार्वजनिक स्थल तथा जङ्गल क्षेत्रमा सवारी साधन रोकेर यौनजन्य गतिविधि गरेका कारण सडक दुर्घटना बढेको तथा यौनजन्य रोगको सङ्क्रमण समेत बढ्ने  भन्दै नियन्त्रणमा लिएका महिलाहरूको एचआईभी परीक्षण गर्ने प्रहरीले जनाएको छ । 

यौनजन्य गतिविधिमा सङ्लन आरोपमा ७ जना महिलाहरूलाई नियन्त्रणमा लिएको प्रहरी सोही कार्यमा संलग्न पुरुषलाई भने बिना कारबाही त्यसै छोड्ने गरेको छ । 
 


Author

थप समाचार
x