अपराध

नुभिव हत्या प्रकरणः २ जनालाई कारागार पठाउन आदेश, यस्तो छ घटना विवरण

नुभिव तनावमा थियोः साथीहरू

अनिष भट्टराई |
जेठ ७, २०७८ शुक्रबार १३:४७ बजे

जिल्ला अदालत कास्की । फाइल तस्‍बिर

पोखरा : नुभिव उप्रेती हत्या प्रकरणमा जिल्ला अदालत कास्कीले २ युवकलाई कारागार पठाउन आदेश दिएको छ । १ जना भने नाबालक रहेको भन्दै सुधार गृह पठाइएका छन् । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलाशले बिहीबार २ युवकलाई थुनामा पठाउन आदेश दिइएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले बताए । ‘पछि ठहरेबमोजिम हुने गरी अहिले कारागार पठाउन आदेश भएको छ,’ पनेरुले भने । 

४ वैशाखमा १८ वर्षीय नुभिवको शव फेवातालमा भेटिएपछि पोखरा बस्ने १८ वर्षीय एक किशोर, १९ वर्षीय बिगेन गुरुङ र वासुदेव गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । ३ युवकलाई कास्की प्रहरीले १० बैशाखमा पक्राउ गरेको थियो । ३ वैशाखमा पोखरा आएका काठमाडौं खुमलटारका नुभिव भोलिपल्ट बिहान फेवातालमा मृत भेटिएका थिए ।


कसरी भयो घटना ?
काठमाडौंको सिटिजन कलेज पढ्ने नुभिव उप्रेती (१८) लाई उनका बाबु रत्नप्रसादले कलेजसम्म पुर्याउँथे । नुभिव कलेज बिदा भएपछि घर फर्कदैनन् । उनका दिदी, आमा, बुबाले नुभिवको खोजी थाल्छन् । 

नुभिवको फोन अफ भएकाले नुभिवका साथीहरूलाई परिवारले फोन गर्छ । कुनै साथीलाई नुभिवको बारेमा थाहा हुँदैन । परिवारले नुभिवले खाजा खाने ठाउँदेखि उनी जान सक्ने ठाउँहरू सबैतिर खोज्यो । बेलुका ११ बजेसम्म पनि नुभिवको बारेमा जानकारी नमिलेपछि परिवारले जावलाखेल प्रहरीलाई छोरा हराएको रिपोर्ट दिन्छन् । 
पुलिसकहाँ रिपोर्ट दिएर फर्किएपछि भिमाले छोरा नुभिवलाई वाट्एपमा म्यासेज पठाउँछिन्, राति १२ बजे । ‘मलाई तिम्रो लोकेशन भन, तिमी सुरक्षित छौ ? कहाँ छौ ? मोबाइल चार्ज गरेर मलाई म्यासेज गर,’ आमा भिमाको म्यासेज थियो । 

नुभिवले राति २ः२६ मा जवाफ पठाउँछन् । जवाफमा नुभिवले आफ्नो मोबाइल बैंकको पासवर्ड, फोनको पासवर्ड पठाउँछन् । ‘मामु मलाई माफ गर्नुस् म बोल्न सक्दिनँ, म पोखरा छु, अब यो मेरो अन्तिम म्यासेज हुनेछ,’ नुभिवले म्यासेज पठाए । त्यसको भोलिपल्ट पोखरा ६ फेवातालमा वैशाख ४ गते एउटा शव भेटिन्छ । शव नुभिवकै थियो । बिहान ६ः४० बजे नुभिवका शव भेटिएको भन्दै प्रहरीले सूचना जारी गर्यो‍ । फेवातालमा नुभिवले आत्महत्या गरेको प्रहरीले निश्कर्ष निकाल्यो । 
प्रहरीले सोही दिन नुभिवकी आमा भिमा मैनाली उप्रेतीलाई खबर गर्छ । भिमा, भिमाका श्रीमान् रत्नप्रसाद उप्रेतीलगायत पोखरा आउँछन् । शव राखिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर शव सनाखत गरे । 

कलेज छाडिएका नुभिव एकाएक किन पोखरा आए ? राति आफ्नी आमालाई किन बैंक, मोबाइलको पासवर्ड पठाए ? किन अन्तिम म्यासेज हो भने ? उनका गतिविधिमात्र होइन, उनको शवले पनि आत्महत्या नभइ हत्या भएको बताउँथ्यो । शव हेर्दा गुप्ताङ्गबाट रगत बगेको, घाँटीमा रातो दाग, टाउकोमा टुटुल्को, तिघ्रामा रगत, कोखा र निधारमा निलडाम थियो । भिमाले आफूले शव देखेपछि आत्महत्या नभई हत्या भएको ठहर गरिन् । तर कर्तव्य ज्यान मुद्दामा आमाले दिएको जाहेरी बैदाम प्रहरीले लिन मानेन । आत्महत्या भएको भन्दै फिर्ता पठाइदियो । 

नुभिवको इमेलबाट उनको लोकेशन पनि परिवारले नै ट्रेस गर्यो‍ । गुगल म्याप अनुसार  दिउँसो पौने २ बजे उनको लोकेशन काठमाडौंमै देखाएको थियो । त्यसपछि उनको लोकेशन सिधै पोखरा देखिन्छ । नुभिव पोखरा आएर राति ९ बजे नै आफूले बुक गरेको होटलमा चेक इन गरेको बुझिएको छ । नुभिवको परिवार पुनः पोखरा फर्केर जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी दिए । त्यसपछि मात्र नुभिवमाथि भएका घटनाका गाँठो फुस्किँदै गयो । प्रहरीले शव फेला परेको करिब ३ घण्टा अघिको गल्ली नं. १३ को बीच सडकमा झगडा भएको सिसिटिभी फुटेज सार्वजनिक भयो । 

प्रहरीले सार्वजनिक गरेको फुटेजमा बिहान ३ः२३ बजे ३ युवकले १ युवकलाई कुटपिट गरिरहेको देखिन्छ । अरु प्रत्यक्षदर्शी आएर ती युवकलाई रोकेपछि मात्र उनीहरू पिट्न बन्द गर्छन् । प्रहरी स्रोतका अनुसार नुभिवसँग ती ३ युवकको ट्रेजर लाउञ्जमा झगडा भएको थियो ।

प्रहरीको अनुसन्धानले आशिष गुरुङसँग सुरुमा नुभिवको नोकझोंक भएको देखिन्छ । नुभिवले ट्रेजर लाउञ्जमा आफ्नो सामान छाडेको भन्दै लिन गएका बेला बाउन्सरले रोकेपछि छेउमा रहेका आशिषले नुभिवलाई औंलाले देखाउने, मुड्की ताक्ने गरेको र झगडा सुरु गरेको देखिन्छ ।

कुटपिटमा पर्नु भन्दा ५ मिनेट अगाडि नुभिवले आफूलाई म्यासेज पठाएको भिमा बताउँछिन । ‘पिटाइ खानु भन्दा ५ मिनेटअगाडि मलाई म्यासेज गरेको छ । नबुझिने अंग्रेजी लेटरमा म्यासेज छ,’ उनले भनिन् । राति २ बजेबाट नै नुभिवमाथि कुटपिट भएको देखिन्छ । साढे २ सम्म नुभिवलाई कसैले केही गरेको नखुले पनि किन उनले अन्तिम भन्दै म्यासेज पठाए ? यसले थप संशय पैदा गर्छ । 

ट्रेजरमा बसेर पोखराका आशिष रानाभाटसँग नुभिवले टेबल सेयर गरेर रक्सी पिएको खुलेको छ । आशिषसँग नुभिवले आफू पोखरा घुम्न आएको बताएको आशिष बताउँछन् । ‘म टबेलमै थिएँ, नुभिव आएर चिनजान गर्‍यो, मैले खाएको टकिला र उसले खाएको टकिलाको पैसा उसैले तिर्यो‍, रक्सीले धेरै मातिएर डान्स फ्लोर चढ्न लागेपछि उसलाई साढे १ बजे गार्डले निकालिदिए,’ आशिषले प्रहरीसमक्ष भनेका छन् । नुभिवको फोनबाट नुभिवको शव भेटिएको ९ मिनेट पछि अर्थात् ६ बजेर ४९ मिनेटमा उनका साथी सहिष्णुलाई फोन गएको देखिन्छ । यसले घटना थप शंकास्पद भएको भिमा बताउँछिन् । 

साथीहरू भन्छन्ः नुभिव तनावमा थियो
नुभिवको झोलामा प्रहरीले ५/६ ग्राम गाँजा र चुरोट फेला पारेको थियो । नुभिवले सो दिन ट्रेजरमा मादकपदार्थ पनि सेवन गरेको प्रहरीले बतायो । नुभिवका साथी ऋतिक जैशवाल भने आफूले नुभिवलाई पाँचपोखरी जाने बेला चिनेको र आफू नयाँ वर्षका दिन बथ्र्डे मनाउन पोखरा आएको बताउँछन । नुभिवले लागूऔषध सेवन गर्ने गरेको र आफु बस्ने होस्टलमा पनि भेट्न आउने गरेको जैशवालले प्रहरीलाई बताएका छन् । ‘डिप्रेशनको रोगी जस्तो व्यवहार देखाउँथ्यो, लागूऔषध हामीलाई पनि दिन्थ्यो,’ जैशवालले भने ।

डनबस्को सिद्धिकी स्कुलमा पढ्दाका नुभिवका साथी विप्लव अधिकारी नुभिव केही तनावमा हिँडिरहेको भन्दै अदालतमा बयान दिएका छन् । ‘चुरोट खाने घरमा थाहा पाएपछि उसलाई निस्कन नदिनु भएको रहेछ, उ देउराली गोरखा फार्म घुम्न जान मन लागेको, ट्याटु हान्न मन लागेको बताउँथ्यो र उ टेन्सनमा थियो,’ उनले भनेका छन् ।

प्रतिवादीहरू भने आफूहरूले कुनै रिसिविले नुभिवलाई नमारेको दाबी गर्छन् । नाबालक भनिएका आशिषले ट्रेजर लाउञ्जमा बाहिर बसेका बाउन्सर आफ्नो मामा पर्ने भएकाले उनीसँग झगडा भएपछि कुटपिट भएको र आफूहरू घर गएको बताउँछन् । ‘त्यहाँबाट हिँडेपछि बाटोमा फेरी दुई जना दाइसँग धकेलाधकेल भएको हो, चोटपटक कसरी लाग्यो, थाहा छैन,’ उनीहरूले भनेका छन् ।

यता परिवार भने ३ जनाले नुभिवलाई मोटरसाइकलमा गई पूर्व रिसइबी लिई योजना बनाइ एकठाउँमा घटना भएपछि पुनः पटक-पटक ठाउँठाउँमा पिटेको दाबी गर्छ । नुभिवले आफ्नो कोठा चिन्न सकिनँ भन्दा प्रहरीले नुमिवलाई कोठासम्म पुर्या‍इदिनुपर्ने भए पनि नलगिदिएको परिवारको गुनासो छ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x