अपराध

दुबई नेपालीको अपराध गरी लुक्ने अखडा बन्दै, रेड कर्नर नोटिसबाट पाँच वर्षमा समातिए २२ जना

'प्रहरीकोमा केस आइ नपुग्दै देश छाड्छन'

अतिन आचार्य |
पुस १४, २०८० शनिबार ७:५० बजे

काठमाडौँ- एक साताअघि ठगी मुद्दामा रेड कर्नर नोटिस जारी भएका सर्लाहीका कोमलराज उपाध्याय पक्राउ परे ।  ठगी गरेको आरोपमा दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी प्रालिका सञ्चालक ४१ वर्षीय उपाध्यायलाई नेपाल प्रहरी र इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल ल्याएको हो । 

सुन तस्करी र सनम हत्या प्रकरणमा सुनसरी इटहरी उपमहानगरपालिकाका ३२ वर्षीय बेनु श्रेष्ठ युएईबाट पक्राउ परेका थिए । उनलाई वि. स २०७५ को असोजमा इन्टरपोलको सहयोगमा पक्राउ गरी दुबईबाट ल्याइएको थियो ।  


धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई पक्राउ गरेको छ । उनलाई एनसिबी दोहा कतारको समन्वयमा पक्राउ गरी नेपाल फिर्ता ल्याइएको हो । गत साउनमा म्याग्दीको साविक अर्मन गाविस- २ ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको छ ।

त्यसैगरी, पछिल्लो केही साता यता विभिन्न समयमा नेपालमा अपराध गरी विदेशमा लुक्न सफल भएका अभियुक्तलाई नेपाल प्रहरीले ल्याउन थालेको छ ।

धेरै जसो युवाहरू अपराध गरि विभिन्न बाटो अपनाई खाडी मुलुक जाने गरेका नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरी पाँच वर्षमा विभिन्‍न मुलुकबाट २२ जना अभियुक्तलाई पक्राउ गरि नेपाल ल्याएको छ ।

सुन तस्कर, मानव बन्धक, हत्या, मानव बेचबिखन, साइबर अपराध, बलात्कार र ठगी जस्ता केसमा अभियुक्त रहेका खाडी तथा अमेरिकाबाट सम्बन्धित मुलुकका प्रहरीको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिई स्वदेश ल्याइएको हो । प्रहरीले रेड कर्नर नोटिस जारी गरी फरार रहेका केहीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँका विभिन्न ठाउँ र जिल्लाबाट पनि नियन्त्रणमा लिएको छ ।

खाडी मुलुक कतार, साउदी अरब, दुबई, बहराईन,मलेसिया, थाइल्याण्ड र अमेरिका जस्ता मुलुकबाट नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरी अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।

रेड कर्नर नोटिस जारी गरी पक्राउ परेका मध्येमा हत्या आरोपमा फरार रहेका व्यक्तिहरू बढी छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार हत्या गरी धेरैजसो अभियुक्तहरू बढी दुबईमा लुकिछिपी अवस्थामा रहेकालाई पक्राउ गरि स्वदेश ल्याएको छ ।

नेपालमा आपराधिक गतिविधि गरी खाडी मुलुक दुबई लुक्ने अखडा बन्दै गएको छ । भिजिट भिसा र कामदार भिसामा खाडी लगायतका अन्य मुलुकमा लुकीछिपी काम गरिरहेका हुन्छन् । कतिपय आरोपीहरू भने उतैबाट नेपालका लागि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ ।

सम्बन्धित देशका प्रहरीले खोज्ने भएकाले केही समय पनि लाग्न सक्ने नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए । रेड कर्नर नोटिस जारी हुनासाथ अभियुक्तहरू नियन्त्रणमा आइहाल्ने भन्ने नहुने उनको भनाइ छ । अभियुक्तहरूको समयमा पहिचान खुल्न नसक्दा प्रहरीले पक्राउ गर्न नसक्ने उनले बताए ।

रेड कर्नर नोटिस जारी भएपछि खोजी गर्ने प्रक्रिया हुन्छ,’ प्रवक्ता कडायतले भने,’सम्बन्धित देशका प्रहरीले खोज्छन् । खोज्दा समय पनि लाग्छ । यति समयमा अभियुक्तलाई पक्राउ गर्न सकिन्छ भनेर सकिँदैन ।‘

उनका अनुसार रेड कर्नर नोटिस जारी हुनेमा पुरुष अभियुक्त रहेका छन् । विभिन्न किसिमका अपराधमा उनीहरू संलग्न भएर फरार हुने गरेको उनले जानकारी दिए ।

नेपाल प्रहरीका अनुसार रेड कर्नर नोटिस जारी गरी २८ जनालाई पक्राउ परिसकेका र ४९ जना पक्राउ पर्न बाँकी रहेका छन् ।

‘प्रहरीकोमा मुद्दा दर्ता हुनुअघि धेरै अभियुक्तहरू विदेश गइसकेका हुन्छन्,’ उनले भने,’ पछि मुद्दा दर्ता भइसकेपछि खोजी प्रक्रिया बढाउनुपर्ने भएकाले उहाँहरू विदेश पुगिसकेका धेरै उदाहरणहरू छन् । प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिन नसक्ने अवस्था आएमा र विदेशतिर लुकेका हुन्छ कि भनी रेड कर्नर नोटिस जारी खोजी कार्य गर्छ ।‘

वनसँग सम्बन्धित मुद्दा लागेकाहरू फरार सूचीमा रहेन गरेको प्रवक्ता कडायतले बताए । वन्यजन्तु तथा राजश्‍व छली मुद्दामा परेकाहरूको सुरुमा प्रहरीले नहेर्ने उनले जानकारी दिए । 

प्रहरीकोमा सबै पक्रिया पुरा भएपछि मात्र आउने उनले बताए । प्रहरीकोमा आइसक्दा अभियुक्तहरूले देश छोडिसक्ने उनको भनाइ छ । ‘प्रहरीले अन्त्यमा खोजी गर्नलाई रेड कर्नर नोटिस जारी गर्छ,’ उनी भन्छन् ।

पूर्व डीआइजी हेमन्त मल्लले अपराध गर्नेहरू कुनै पनि ठाउँमा लुक्न नसक्ने प्रमाण प्रस्तुत भएको बताए । जहाँसुकै लुके पनि अपराध गर्नेलाई प्रहरीले खोजेर ल्याउँदो रहेछ भनेर आम मानिसमा सन्देश गएको उनले बताए ।

‘यसरी सम्पर्क गरेर ल्याउँदा प्रहरीको पनि हौसला बढ्छ,’ उनले भने,’ प्रहरीबाट फुत्केर गएको अभियुक्तहरूलाई ल्याउन सक्नु प्रहरीका लागि सन्देश हो ।‘

धेरै अभियुक्तहरू रेड कर्नर नोटिस जारी हुनु अगावै भाग्ने गरेको मल्ल बताउँछन् । विदेश पुगेपछि धेरै मानिसलाई रेड कर्नर नोटिस जारी भएको उनले सुनाए । रेड कर्नर नोटिस जारी भएपछि खुला सीमाका कारण भारत हुँदै तेस्रो मुलुक जान सक्ने उनले बताए ।

सुरक्षा सम्बन्धी विषयमा भारत र नेपालबीचको सम्झौता नहुनुमा अपराध गरेर ओहोरदोहोर गर्न सक्ने उनको भनाइ छ । आपराधिक घटना नेपाल र भारतका दुवैका लागि चुनौतीको विषय बन्दै गएको उनले बताए ।

नेपालमा इन्टर एजेन्सीको समन्वय नहुनुमा अपराध गर्नेलाई चाँडो नेपाल ल्याउन नसक्नु अर्को समस्या रहेको उनले टिप्पणी गरे । सुरक्षा प्रविधिमा नेपाल सरकारले ठूलो लगानी गर्नुपर्ने उनले आवश्यकता औंल्याए ।

‘अपराध पनि प्रविधिमा गइसकेको छ । ठूला-ठूला अपराधका घटनाहरू प्रविधिबाट हुन थालिसकेका छन्,’ मल्लले भने,’ नेपालले अपराधी मानेका व्यक्तिहरू सम्बन्धित मुलुकले त्यस्तालाई अभियुक्त ठान्दैन । यस्तो अवस्थामा प्रहरीले अभियुक्तलाई नेपाल ल्याउन सक्दैनन् ।‘

के हो रेड कर्नर नोटिस  

विभिन्न देशमा लुकेर बसेका अपराधीलाई पक्राउ गर्न विश्वभरका प्रहरी संगठनभित्र सहकार्यका निम्ति अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सन् १९२३ मा गठन भयो ।

सन् १९९७ मा आबद्ध भएको नेपाल इन्टरपोलको सयौं सदस्य हो । इन्टरपोलले सम्बन्धित देशको प्रहरी सङ्गठनको सिफारिसमा रेड कर्नर नोटिस जारी गर्छ । अदालतबाट मुद्दा फैसला भई अपराधी लुकीछिपी भागे वा लामो समय फरार भए, त्यस देशले इन्टरपोललाई रेड कर्नर नोटिस जारी गर्न अनुरोध गर्छ ।

सोहीअनुसार इन्टरपोलका सदस्य राष्ट्रहरूलाई जहाँ भए पनि पक्राउ गरी कानुनी कारबाहीका लागि बुझाउन आग्रहसहितको फोटोसहित सूचना गर्छ । इन्टरपोलको आग्रहमा अपराधीलाई सम्बन्धित देशका प्रहरीले निगरानी गरिरहेका हुन्छन् ।

रेड कर्नर नोटिस- फरार अभियुक्त खोज्न, कुनै पनि अपराध गरेर देश बाहिर गएका र अदालतबाट दोषी ठहरिएका व्यक्तिलाई पक्राउ गर्न जारी गरिने नोटिसलाई रेड नोटिस भनिन्छ ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x