अपराध

सिध्दबाबालाई थुनामै राख्‍ने सर्वोच्चको आदेशमा के छ ?

इकागज |
मंसिर १४, २०७७ आइतबार १३:१५ बजे

काठमाडौं : अनुयायी एक महिलालाई बलात्कार गरेको मुद्दा खेपिरहेका सिध्दबाबा भनेर चिनिने कृष्णदास गिरीलाई थुनामै राख्‍न सर्वोच्च अदालतले आदेश दिएको छ । जबरजस्तीकरणी मुद्दामा उच्च अदालत बिराटनगरको आदेश सदर गर्दै गिरीलाई थुनामै राख्न सर्वोच्चले आदेश दिएको हो ।

यसअघि २०७६ पुस १४ मा तीन लाख धरौटीमा छाड्ने सुनसरी जिल्ला अदालतको आदेश २०७६ माघ ९ मा बदर गर्दै उच्च अदालत बिराटनगरले थुनामै राख्‍न आदेश दिएको थियो । सर्वोच्चका न्यायाधिशद्वय डा.आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्च अदालत बिराटनगरको आदेश सदर गर्दै गिरीलाई थुनामै राख्न आदेश दिएको हो् ।


‘तत्काल प्राप्त प्रमाणको आधारमा निजनिर्दोष रहेछन् भन्न सकिएन,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘तसर्थ मुद्दाको सुनुवाइ र फैसला हुँदाको बखत ठहरे बमोजिम हुने नै हुँदा उच्च अदालत बिराटनगरको आदेश वेरितको नदेखिएकोले परिवर्तन गरिरहनु परेन ।’

साथै थुनामा बस्नुपर्ने अवस्था छल्न आकस्मिक उपचारका लागि बढीमा ७२ घण्टासम्म अस्पताल बस्नुपरेकोबाहेक अन्य अवस्थामा सरकारी अस्पतालका कम्तीमा तीन जना चिकित्सकको समितिले सिफारिस गरेको अवस्थामा मात्र अस्पताल बस्ने व्यवस्था गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

सुनसरीको बराहक्षेत्र चतरास्थित आश्रममा गिरीले अनुयायी एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोग छ ।


Author

थप समाचार
x