अपराध

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

इकागज |
साउन १८, २०७८ सोमबार २०:४५ बजे

काठमाडौँ - नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगञ्जले रु २३ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका बाँके नेपालगञ्ज उपमहानरपालिका-१ का ५६ वर्षीय विनोदकुमार श्रेष्ठलाई आज भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो । 

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत तुलसीपुर नेपालगञ्जको विसं २०७७ फागुन १२ गतेको फैसलापछि सात दिन कैद र बिगोबमोजिम रु १० लाख जरिवाना ठहर गरेपछि फरार रहेका श्रेष्ठलाई आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिए । 


पक्राउ परेका श्रेष्ठले आफ्नो नबिल बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले श्रेष्ठलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए । (रासस)
 


Author

थप समाचार
x