अपराध

संखुवासभा हत्याकाण्ड

मिसन एमएम-६: सुरक्षाकर्मीले छाडेका छैनन् उम्लिङ

बाबुराम भण्डारी |
भदौ २९, २०७८ मगलवार ९:५१ बजे

विराटनगर - एकै परिवारका ६ जनाको सामूहिक हत्या गर्ने संखुवासभाको मादी नगरपालिका–१ उम्लिङका २५ वर्षीय लोकबहादुर कार्की पक्राउ परे पनि उम्लिङ गाउँमा त्रास घटेको छैन । पालतो घर बस्ती भएको उम्लिङका स्थानीयले सोच्दै नसोचेको हत्याको घटना आँखै सामुन्ने छ । प्रहरीले हत्या अभियोगमा लोकबहादुरलाई पक्राउ गरे पनि गाउँमा अब के होला भनेर कसैले पनि बोल्न सक्ने अवस्था छैन । गाउँलेलाई घटना बिर्सिन समय लाग्नेछ ।


तस्‍बिर: घटना भएको उम्लिङ गाउँ

घटनाको छैटौं दिन हत्या आरोपी लोकबहादुरलाई नियन्त्रणमा लिएर आइतबार (सातौं दिन) इलाका प्रहरी कार्यालय चैनपुरमा प्रहरीले सार्वजनिक गरिसकेको छ । तर घटना भएको गाउँमा देखिएको त्रास र घटनासँग सम्बन्धित थप तथ्यहरूको समेत पर्खाईमा रहेको प्रहरीले अझै केही दिन प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जनाको टोली उम्लिङमै राखेको छ ।

तस्‍बिर: हत्या अभियोगमा पक्राउ परेका २५ वर्षीय लोक बहादुर कार्कीलाई सार्वजनिक गर्दै प्रहरी ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले अहिले पनि अनुसन्धानको पाटो नसकिएकोले घटनास्थल छोडिहाल्न नमिल्ने निष्कर्षसहित प्रहरी टोलीलाई अझै २० दिनसम्म बस्ने गरी राखिएको बताए ।

‘त्यहाँ रहेको प्रहरीले घटनाका अन्य पाटोहरूमा अनुसन्धानकै काम गरिरहेको छ, थप कुरा खुलेको खण्डमा टोलीले जानकारी गराउँछ’ डिएसपी सुवेदीले भने, ‘हामीले अनुसन्धानको पाटोलाई छोडिसकेको छैन, नयाँ कुराहरू अझै पनि आउन सक्छ, २० दिनजति असईको कमाण्डमा टोली उम्लिङ बस्नसक्छ ।’

घटनापछि गाउँमा त्रास कायमै रहेकोले जनप्रतिनिधिहरूकै अनुरोधमा प्रहरीलाई केहीदिन राख्ने व्यवस्था मिलाइएको मादी नगरपालिकाका मेयर विदुर कुमार लिंथेपले जानकारी दिए । 

‘त्यहाँ अझै मान्छेहरू डराइरहेका छन्, आँखाभरी घटना आउँछ, मलाई नै अझै डर लागिरहेको छ’ मेयर लिंथेपले भने, ‘केहीदिन प्रहरी रहँदा गाउँलेहरूमा केही सुरक्षा महसुस हुन्छ कि भनेर अनुरोध गरेका थियौं, टोली अहिले त्यहीँ बसेको जानकारी आएको छ ।’

प्रहरीलाई सामूहिक हत्याको उक्त घटनामा मुख्य आरोपित पत्ता लगाउन निकै चुनौती थियो । घटना भएको जेठ २१ गते दिनभर प्रहरीलाई घटनास्थलको सुरक्षा व्यवस्था मिलाउनै लाग्यो । भोलिपल्ट पानी परेपछि प्रहरीलाई अनुसन्धानमा चुनौती थपियो । 

बल्लतल्ल मृतकहरूको शव पोष्टर्माटमका लागि धरान पठाउन प्रहरी सफल भयो । कुकुरसहित पुगेको प्रहरी अनुसन्धान टोलीले उक्त घटनाको दोषी पहिचान गर्न ‘मिसन एमएम–६’ नामक अपरेशन चलाएको थियो ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी अरुणकुमार विसीको टोलीसमेत उम्लिङ पुगेपछि घटनास्थलमा खटिएका प्रहरीको संख्या ४९ पुगेको थियो । ठूलो संख्यामा खटिएको प्रहरीले अपराधी पत्ता लगाउन अनुसन्धानमा केन्द्रित हुन अनेकौं अप्ठेरो व्यहोर्नु परेको पर्‍यो । 

गाउँमा पालता घरहरूका कारण घटनास्थलमा खटिएको प्रहरीहरूलाई अनुसन्धानका आवश्यक सरसामग्रीको व्यवस्थापन गर्नुपर्ने चुनौतीका साथै दैनिक आवश्यक पर्ने गाँसबासको पनि व्यवस्थापन पनि गर्नुपर्ने थियो । 

९२ वर्षीय बृद्ध बौद्धमान कार्कीकी श्रीमतिसहित छोरा बुहारी, नातिनी बुहारी र नावालक नाति नातिनासहित परिवारै सखाप हुने गरी भएको हत्याकाण्ड र ठूलो संख्यामा प्रहरीहरू खटिएपछि गाउँलेहरूमा के गर्ने कसो गर्ने होला भन्ने अन्यौल थियो ।

लोकबहादुरले मुख्य निशाना बनाएका ५८ वर्षीय मृतक तेजबहादुर कार्कीको घरदेखि माथि डाँडामा खड्गबहादुर कार्कीको घरमा प्रहरीको अनुसन्धान टोलीले मुख्य कमाण्ड पोष्ट बनाएको थियो । गाउँमा एकै ठाउँमा बस्ने ठाउँ नभएपछि खड्गबहादुरकै गोठ सफा गरेर केही प्रहरी बसेका थिए । केही नजिककै अन्य घरहरूमा पनि बसेका थिए ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार स्थानीयहरूले अनुसन्धानका लागि खटिएका प्रहरीलाई ठूलो सहयोग गरे । उनीहरूले आ–आफ्ना बारीमा फलेका हरियो सागसब्जीहरू र खाना पकाउने, खाने भाँडाकुडाहरू उपलब्ध गराए । 

अनुसन्धान र हत्या कबुल गराउन इन्टरनेट
प्रहरीलाई घटनास्थलको भौगोलिक अवस्था विश्लेषण गर्न इन्टरनेट आवश्यक परेपछि घटनाको तेस्रो दिन दुर्गम गाउँ उम्लिङमा इन्टरनेट जडान गरिएको थियो । इन्टरनेटको माध्यमबाट प्रहरीले घटनास्थलको स्याटेलाइट नक्शा निकालेको थियो । 

हत्या भएको दिन लोकबहादुरले जुन हाफपाइन्ट लगाएका थिए, त्यो हाफफाइन्ट उनैले बाकसमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । लोकबहादुरले उक्त हाफपाइन्ट आफ्नो नभएको दाबी गरिरहेका थिए । तर लोकबहादुरका भाईले हाफपाइन्ट दाजुकै हो भनेर प्रहरीलाई बताइसकेका थिए । 

घटनास्थलमा पुग्ने जोसुकैसँगको कुराकानीमा पनि ‘कन्फिडेन्स’ देखाएर बोल्ने लोकबहादुर प्रहरीले केरकार बढाएपछि झर्को मान्न थालेका थिए । प्रहरीका अनुसार घटना भएको दिनको फोटो र भिडियो नासाबाट भिडियो मगाएर देखाउने बताएपछि मात्रै उनले आफ्नो संलग्नताको प्रमाण देखाउन चुनौती दिएका थिए । प्रहरीले इन्टरनेट देखाएर घटना भएको दिनको भिडियो नासाबाट मगाइसकेको कुरा लोकबहादुरलाई सुनाएको थियो । 

प्रमाणको कुरा गरेपछि अनुसन्धानमा खटिएको प्रहरीले लोकबहादुरकै संलग्नता रहेको निष्‍कर्षको नजिकतिर पुगेको थियो । बेलैमा संलग्नता स्वीकार गरेको खण्डमा दण्ड सजाय कम हुने भन्दै प्रहरीले ‘कन्भिन्स’ गराउने क्रममा लोकबहादुरले राति करिब १ बजेतिर घटनामा संलग्ना रहेको कुरा स्वीकार गरेका थिए ।

डेढ लाख जति खर्च भयो : मेयर लिंथेप
मादीका मेयर लिंथेपले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई छिटो अनुसन्धान अघि बढोस् भनेर सकेसम्म सहयोग गरेको बताए । मादी नगरपालिकाले घटनास्थलमा खटिएको प्रहरीलाई अनुसन्धान अघि बढाउन इन्टरनेट, फोटोकपि पेपर, गाडी, लास लैजान ट्रयाक्टर लगायतको बन्दोबस्त मिलाएको थियो ।

‘अनुसन्धानकै क्रममा विभिन्न कुराहरू इन्टरनेटबाट पठाउनु पर्ने, मगाउनु पर्ने भन्ने कुरा आयो, हामीले तत्कालै त्यहाँ इन्टरनेट पनि जडान गरिदियौं, कुकुर लैजान र ल्याउनका लागि गाडी, ट्याक्टरहरू व्यवस्था गर्यौं’ मेयर लिंथेपले भने, ‘५० जना जति प्रहरीलाई दैनिक दालभातसम्म त खुवाउनै पर्यो, वडाध्यक्षसँग समन्वय गरेर हामीले प्रहरी कर्मचारीहरूलाई खानपानका लागि सरसामग्रीहरू सहयोग गर्‍यौँ ।’

मेयर लिंथेप हत्या गरिएका ६ जनाको शव उठाउने दिनदेखि नै घटनास्थलमा थिए । उनीसँगै वडाध्यक्ष खेमनाथ कटुवाल पनि घटनास्थल उम्लिङ मै बसेका थिए । उनीहरूले त्यहाँ खटिएको प्रहरीसँगै बसेर अनुसन्धानमा आवश्यक स्रोतसाधनको जोहो गर्ने, प्रहरीका लागि खाने बस्ने व्यवस्थापन मिलाउने र काम परेका घरहरुमा पुर्या‍उने काममा मद्दत गरेका थिए ।

तस्‍बिर: घटनाको अनुसन्धानका लागि उम्लिङमै बसेका प्रदेश १ प्रहरीका डिआइजी अरुणकुमार बिसी, मादी नगरपालिकाका मेयर विदुरकुमार लिंथेपलगायत खाना खाँदै ।

मेयर लिंथेपले घटनाको अनुसन्धानमा क्रममा आवश्यक वातावरण तयार पार्न नगरपालिकाको तर्फबाट करिब डेढ लाख रुपैयाँ जति खर्च गरेको जानकारी दिए । 

भदौ २१ गते विहान साढे ६ बजेतिर लोकबहादुरले नाताले काका पर्ने ५५ वर्षीय तेजबहादुर कार्कीसहित ८४ वर्षीया पार्वती कार्की, ५४ वर्षीया मनमाया कार्की, ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको सामुहिक हत्या गरेका थिए । उनले आँखा नदेख्ने र कान नसुन्ने ९२ वर्षीय बौद्धमान कार्कीलाई भने छाडेका थिए ।

शोकमग्न उम्लिङ गाउँमा मृतकहरुको परम्परा अनुसार अहिले काजक्रिया भइरहेको वडाध्यक्ष खेमनाथ कटुवालले जानकारी दिए । बैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका गएका मृतक तेजबहादुरका जेठा छोरा रमेश र दुवईमा रहेका नरेश अहिले उम्लिङमै काजक्रियामा बसेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x