अपराध

मुख्य कारण ‘इख’

मादी घटनामा 'ट्‍वीस्‍ट': मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर, पाँच जना मिलेर हत्या

बाबुराम भण्डारी |
असोज ४, २०७८ सोमवार १३:२८ बजे

विराटनगर - संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याको घटनामा प्रहरीले नयाँ तथ्य सार्वजनिक गरेको छ । स्थानीय ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनका परिवारका ६ जनाको हत्या घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की रहेको संखुवासभा प्रहरीले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

प्रहरीले यसअघि २५ वर्षीय लोकबहादुर कार्की मुख्य योजनाकार भएको भन्दै हत्याराका रूपमा सार्वजनिक गरेको थियो । तर घटनामा लोक बहादुरसहित पाँचजनाको संलग्न रहेको भन्दै प्रहरीले सोमबार विज्ञप्तिमार्फत घटनाको नयाँ परिदृष्य सार्वजनिक गरेको हो ।


जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार खड्गबहादुरको योजना घटनाको अघिल्लो दिन अर्थात भदौ २० गते बेलुकै बनाएका थिए । सुवेदीले घटनामा खड्गबहादुरसहित उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, खड्गबहादुरका दाजु, ४९ वर्षीय रणबहादुर कार्की र रणबहादुरका कान्छा छोरा १७ वर्षीय नरेश कार्कीको संलग्नता रहेको जानकारी दिए ।

रणबहादुर यसअघि नै पक्राउ परेका २५ वर्षीय लोकबहादुरका बाबु हुन् । नरेश लोकबहादुर भाई हुन् । उनीहरूलाई गत शनिबार प्रहरीले एकैपटक पक्राउ गरी सदरमुकाम खाँदवारी लगेको थियो ।

पाँचैजना मिलेर यसरी गरे हत्या
प्रहरीकाअनुसार उनीहरूले भदौ २० गते राती ८ बजे हत्याको योजना बनाएका थिए । योजना अनुसार मृतक तेजबहादुर कार्की २१ गते बिहान रणबहादुरको घरमा खेताला बोलाउन आउने र सोही मौकामा तेज बहादुर र उनकी पत्नी ५४ वर्षीया मनमाया कार्की (कमला) को हत्या गर्ने, अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने र मौका मिलेको खण्डमा तेज बहादुरको घरमा भएको धनमाल समेत लैजाने योजना बनाएको प्रहरीले जनाएको छ । 

सोही योजना अनुसार घटनाको दिन मृतक तेजबहादुरको पिप्लेस्थित खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेश खेताला जाने कुरा पहिल्यै निश्चित भएको थियो । तेज बहादुर खेताला बोलाउन २१ गते बिहान आउने निश्चित गर्न घटनाको दिन बिहान ५ बजे खड्गबहादुरले गएर ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नु’ भनि तेज बहादुरलाई लोकबहादुरको घरमा जान अभिप्रेरित गर्ने र तेजबहादुर लोक बहादुरको घरमा जाँदै गरेको देखेपछि खड्गबहादुर र उनका छोरा हस्तबहादुर चिर्पट बोकेर तयारी अवस्थामा बस्ने योजना बनाएका थिए । 

प्रहरीले सार्वजनिक गरेको घटना विवरण अनुसार सोही योजना अनुसार २१ गते विहान तेजबहादुरले लोकबहादुरलाई खेताला जानका लागि उठाउन गएका थिए । तेजबहादुर फर्किएपछि लोकबहादुरले भाई नरेशलाई इसारा गरी आफूले दाउराको चिर्पट र अलैंची काट्ने चक्कु बोकेर पछिपछि गएको र नजिकै रहेको गोगनेको रुख नजिक तेज बहादुर पुगेपछि टाउकोमा चच्कु प्रहार गरेर लडाएका थिए । तेजबहादुर लडेपछि खड्गबहादुर र हस्तबहादुर आएर चिर्पटले हानेका थिए । हस्तबहादुरले चक्कुले पेटमा समेत प्रहार गरेर डिलबाट लडाइदिएका थिए । 

तेजबहादुरले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको सुनेपछि उनकी श्रीमति मनमाया (कमला) र बुहारी ३२ वर्षीया रञ्जना कराउँदै घटनास्थल तर्फ गएका थिए ।  लोकबहादुरले कमलालाई आक्रमण गरे । रञ्जनालाई नरेशले ठेलेर खोल्सामा झारिदिएका थिए । रञ्जनाको शवलाई रणबहादुर र नरेशले कमलाकै शव भएको ठाउँमा पुर्या‍एर घोप्टो पारेर छाडेका थिए ।
घटना भएको बेलामा नाबालक ८ वर्षीय दिपेन र ५ वर्षीया गोमा समेत बाटोमा आएको देखेपछि हस्तबहादुर, लोकबहादुरले बाटो छेकेर मुख थुनेको र लोकबहादुरले चिर्पटले हिर्काएर घाँटी बटारिदिएका थिए ।

घटनापछि पाँचैजना तेजबहादुरको घर तर्फ गएको र घरमा मकै नङ्ग्याउँदै गरेकी ८४ वर्षीया पार्वती कार्कीलाई हस्त बहादुरले समातेर घर पछाडिको गोठमा नजिक लगेका थिए । त्यतिबेलै लोक बहादुरले उनको टाउको भित्तामा ठोक्काएर घाँटी बटारी हत्या गरेका थिए । 

६ जनाकै हत्यापछि उनीहरू प्रयोग गरेको चिर्पट र छुरीसहित लोकबहादुरको घरमा पुगेर लागेको रगत पखालेर छुरी बुइकलमा लुकाएका थिए । चिर्पटहरू अँगेनामा डढाएर रगत लागेको कपडा समेत सुकाएका थिए । त्यसपछि खड्गबहादुर र उनका छोरा हस्तबहादुर आफ्नो घर गएको प्रहरीले जनाएको छ । घटनास्थलबाट फर्किने क्रममा लोकबहादुरका भाई नरेशले रञ्जनाको फोन स्वीच अफ गरी घरमूनिको ओढारमा लगि लुकाएको अनुसन्धानमा क्रममा खुलेको छ ।

घटनापछि पाँचैजना लोकबहादुरको घरमा गएर कसैले सोधेमा घटनाको बारेमा कुनैपनि कुरा नसुनेको र थाहा नपाएको भन्ने गरी सल्लाह गरेका थिए । प्रहरीले थाहा पाइहालेमा लोकबहादुरले मानसिक रोगको औषधि पनि खाने गरेकोले उसैले जिम्मा लिने भनेर सल्लाह गरेको प्रहरीले जनाएको छ ।

मुख्य कारण ‘इख’
खड्गबहादुर नियमित रूपमा रक्सी खान्थे र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई गालीगलौज गर्थे । तेजबहादुरले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनि खड्गबहादुरलाई गाली गर्थे । त्यतिबेलै खड्गबहादुरले ‘तँलाई के मतलब, तँलाई मार्छु’ भन्दै तेजबहादुरसँग झगडा गर्ने गरेका थिए । 
झगडा हुँदा तेजबहादुरले नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने गरेका थिए । त्यस्तै रणबहादुरलाई ‘तँ लठेप्रो केही गर्न सक्दैनस्’ भन्थे । 

तेज बहादुरले जहिल्यै हेप्ने र आफू सम्पन्न भएको फुर्ति लगाउने गरेका कारण उनीहरूले इख राखेका थिए । घटनाको दिन खेताला जार्ने सन्दर्भ मिलेकोले त्यही मौका छोपेर तेजबहादुरको हत्या गर्ने योजना बनाएका थिए ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x