अपराध

काभ्रेका इट्टा व्यवसायीमाथि विराटनगरमा खुकुरी प्रहार

इकागज |
असोज १०, २०७८ आइतवार १५:४६ बजे

विराटनगर -  विराटनगरमा एकजना इट्टा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । काभ्रे घर भएका व्यवसायी ३२ वर्षीय कलामसिंह लामामाथि आइतबार अपरान्ह उच्च अदालत विराटनगरको गेट नजिकै  खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

घाइते लामालाई विराटनगर अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको मोरङ प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का विमल कार्कीलाई पक्राउ गरेको छ ।


खुकुरी प्रहार गर्नुको कारण खुलेको छैन । लामाको पेट र दाहिने हातमा गहिरो चोटपटक लागेको जनाइएको छ । घाइते लामाको अवस्था खतरामुक्त रहेको जनाइएको छ । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इट्टा उद्योगमा लामाको पनि सेयर रहेको जनाइएको छ ।

उक्त उद्योगमा लगानीबारे लगानीकर्ताहरुबीच विवाद रहँदै आएको जनाइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा उक्त इट्टा उद्योगको विवादकै कारण विराटनगर आएको प्रहरीले जनाएको छ । 

दुईजनाले लामामाथि खुकुरी प्रहार गरेपनि कार्की पक्राउ परिसकेका छन् । घटनामा कार्कीसहित दुईजना संलग्न रहेको खुलेको छ । घटनाको विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।


Author

थप समाचार
x