अपराध

महँगोमा पासो बेच्‍ने लोभमा महिलाको हत्‍या

इकागज |
असोज २४, २०७८ आइतबार १४:४३ बजे

काठमाडौँ - अन्धविश्वासका कारण एक महिलाको पासो लगाइ हत्‍या भएको छ । पासो लगाएको डोरी महँगोमा बिक्री हुन्‍छ भन्‍ने अन्‍धविश्‍वासमा ती महिलाको हत्या भएको हो  । हत्‍यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी महँगोमा बेच्न पाउने लोभमा उनीहरूले नुवाकोटकी (हाल ललितपुरको सुनाकोठी बस्ने)४५ वर्षीया कमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । 

महानगरीय अपराध महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २५ गते बिहान प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका बस्ने कमलाको शव ललितपुरको सुनाकोठीमा भेटेको र  घाँटी कसेर हत्या भएको देखिएपछि महानगरीय प्रहरी महाशाखा र प्रहरी बिट चापागाउँले घटनाको अनुसन्धान थालेको जनाएको छ ।


डोरीले कसेर हत्या गर्ने र त्यो डोरी महँगोमा बेच्ने योजनासहित तीन जनाले कमलाको ज्यान लिएको प्रहरीको दाबी छ । प्रहरीले अभियुक्तहरू २३ वर्षीय सविन प्रजा, उनकी १८ वर्षीया श्रीमती सविना प्रजा माझी र २० वर्षीय सुमन मगरलाई पक्राउ गरि सार्वजनिक गरेको हो । भदौ २४ गते नै चिनजानमा रहेकी कमलाकहाँ पुगेको र राति कमलाको हत्या गरेको महाशाखाका डिएसपी निशान थापाले जानकारी दिए ।

हत्या गर्ने डोरीमा शक्ति हुने र ऐनामा नदेखिने कुरा  अन्धविश्वासमात्र भएको थाहा पाएपछि उनीहरूले डोरी नजिकैको इनारमा फ्याँकेर फरार भएका थिए । त्यसपछि उनीहरूले मृतकका कानमा लगाएको  गहना र मोबाइल लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यस्तै प्रहरीले ठूलो परिमाणमा भण्डारण गरिएको अवैध आतिसवाजी एवं पटाकासहित ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा गढिमाई घर भई हाल कुपण्डोल बस्ने वर्ष ३० का उमेश कुमार जैसवाल रहेका छन् । 


Author

थप समाचार
x