अपराध

सिटिजन बैंकबाट २४ लाख लुट्ने तीन जना पक्राउ

लुटपाटमा ९ लुटेरा संलग्न रहेको प्रहरीको दाबी

इकागज |
असोज २७, २०७८ बुधवार १८:२० बजे

विराटनगर - मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन बैंक लुटपाट घटनामा भारतीय लुटेरासहित ९ जनाको संलग्नता रहेको प्रहरीले जनाएको छ । उनीहरु मध्ये प्रहरीले घटना भएको एक घण्टाभित्रै दुई भारतीय र एक नेपाली लुटेरासहित तीनजनालाई पक्राउ गरेको थियो ।

दशैं विदाको अन्तिम दिन भएको र बैंकको दैनिक कारोबार अन्त्य गर्नै लाग्दा सोमबार पौने ४ बजेतिर सात जनाको संख्यामा रहेका लुटेरा समुह मध्येका दुईजनाले बैंकका सुरक्षागार्ड ४० वर्षीय सितल कुमाललाई गोली प्रहार गरी बैंकभित्र प्रवेश गरेर रकम लुटेर भागेका थिए । 


लुटेरा समुहले प्रहार गरेको गोली सुरक्षागार्ड कुमालको कुममा लागेको थियो । उनको अहिले विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

जबरजस्ती बैंकभित्र प्रवेश गरेका लुटेरा समुहले सुरक्षागार्ड कुमालको खुकुरी खोस्न खोजेका थिए । सोही क्रममा प्रतिकार गर्दा अर्का लुटेराले कुमाललाई पछाडिबाट कटुवा पेस्तोलबाट गोली प्रहार गरेको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

लुटेराको गोली लागेर ढलेका सुरक्षागार्ड सितल कुमाल ।

बैंक लुटपाटपछि भागेका लुटेरा समुहको खोजी गर्ने क्रममा प्रहरीले धनपालथान–२ खयरवनाबाट तीनजना लुटेरालाई नियन्त्रणमा लिएको प्रवक्ता श्रेष्ठले बताए । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ का ३२ वर्षीय श्याम मुखिया, भारतको अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र अररियाकै गोराहा–४ का ३० वर्षीय विजय सहनी रहेका छन् । उनीहरुलाई बुधबार प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा चलाएको गोली सहनीको बाँया तिघ्रामा लागेको थियो । तीनैजना एउटै मोटरसाइकलमा चढेर भारत प्रवेश गर्ने तयारी गर्दैगर्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका लुटेरा सुनिल यादवको साथबाट एउटा गोली लोड गरिएको एक कटुवा पेस्तोलसमेत बरामद गरेको जनाइएको छ । 

२४ लाख बढि लुटिएको अनुमान

बैंक स्रोतले बैंकबाट २४ लाख रुपैयाँभन्दा बढि रकम लुटिएको प्रारम्भिक जानकारी दिएको छ । अहिले पनि बैंकको कारोबारको हरहिसाव निकाल्ने क्रम नसकिएका कारण लुटिएको वास्तविक रकम यकिन हुन नसकेको जनाइएको छ ।

यसअघिको प्रारम्भिक हरहिसावका क्रममा बैंकमा रहेको २१ लाख ७० हजार रुपैयाँ नभेटिएको बैंक स्रोतले सुरक्षा निकायलाई जानकारी गराएको थियो । अहिलेसम्म पनि बैंकको हरहिसाव गर्ने क्रम नसकिएको बैंक स्रोतले जनाएको छ । 

पछिल्लो विवरण अनुसार बैंकको २४ लाख रुपैयाँ बढि रकम नभेटिएको जनाइएको छ । प्रहरीले भने बैंकबाट अन्तिम हरहिसावको विवरण नआएकोले लुटिएको रकमको विवरण यकिन हुन नसकेको जनाएको छ ।
 


Author

थप समाचार
x