अपराध

स्क्रयाच गरिएको रिचार्ज कार्डबाट मोटरसाइकल चोरी गर्ने पक्राउ

इकागज |
कात्तिक ४, २०७७ मंगलबार १६:४० बजे

भक्तपुर : कौशलटार बस्ने रोहन पराजुलीले आफ्नै घर अगाडि मोटरसाइकल पार्किङ गरे । पार्किङ गरेकै ठाउँमा उनको मोटरसाइकल हरायो । उनको मोटरसाइकल हराएको सूचना महानगरीय प्रहरी वृत ठिमीले पायो । प्रहरी वृत ठिमी र अपराध महाशाखा पीसीसीबीको संयुक्त टोली परिचालन भयो । 

‘हामीले घटनास्थलको सुक्ष्म अनुसन्धान गर्‍यौँ,’ प्रहरी वृत ठिमीका प्रहरी नायव उपरीक्षक ऋषिराम कँडेलले भने, ‘चोरी भएको ठाउँ नजिकै एकजना शंकास्पद व्यक्तिले फोनमा रिचार्ज गरिरहेको थियो भनेर थाहा भयो । त्यसको केहि समयपछि बाइक हराएको रहेछ । त्यहाँ स्क्रयाच गरिएको एउटा रिचार्ज कार्ड भेटियो । त्यसैलाई आधार बनाएर हामीले अनुसन्धान थाल्यौँ ।’ 


रिचार्ज कार्ड प्रयोग भएको फोन नम्बर प्रहरीले पत्ता लगायो । सोहि दिन साढे तीन बजे मध्यपुर ठिमी नगरपालिका वडा नं. २ मगरगाउँमा अर्को पनि मोटरसाइकल हराएको खबर आयो । मगरगाउँका साजन न्यौपानेले घर अगाडि पार्किङ गरेको बाइक चोरी भएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दुबै चोरीका घटनालाई समानान्तर अनुसन्धान गर्‍यो । 

भक्तपुर, बोडे पेट्रोल पम्प नजिकै रहेको गार्मेन्ट अगाडि सोमबार सडकमा एउटा नम्बर परिवर्तन गरेको अवस्थामा फेला पर्‍यो । प्रहरीले चोरी गर्ने व्यक्तिको निगरानी गरिरह्यो । बेलुका साढे चार बजे कालो रंगको पल्सर बाइकसहित बोडे बस्ने अरुण तामाङ (१८) पक्राउ परे । उनकै अनुसन्धानको आधारमा बोडेमै बस्ने महेश तामाङ (२२)लाई पनि प्रहरीले उनकै कोठाबाट पक्राउ गर्‍यो । 

‘उनलाई कोठाबाट पक्राउ गरेपछि उसैले रिचार्ज कार्ड किनेको पसलमा लग्यौँ,’ प्रहरी नायव उपरीक्षक कँडेलले भने, ‘पसलेबाट उनको सनाखत भएपछि कारबाही अगाडि बढायौँ । उनकै बयानको आधारमा सेतो रङको अर्को पल्सर बाइक मध्यपुर ठिमी, कमेरोटारबाट बरामद भयो ।’
महेश तामाङको बयानका आधारमा काठमाडौं, मुलपानी बस्ने मनोज लामा (२९) समातिए । उनलाई प्रहरीले निलो रङको पल्सर मोटरसाइकल सहित पक्राउ गरेको थियो । 


 


Author

थप समाचार
x