अपराध

रिक्सा चालक हत्या आराेपमा भारतीयसहित ५ जना पक्राउ

सुभाष कर्ण |
पुस २९, २०७८ बिहीबार १७:९ बजे

जनकपुरधाम – पर्सा प्रहरीले ई-रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँकाे हत्या आराेपमा भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य पूर्वी चम्पारण मोतीहारी जिल्ला निवासी हाल वीरगञ्ज छपकैया बस्दै आएका इ-रिक्सा चालक सुनिल कुमार, बारा परवानीपुर गाउँपालिका ५ बस्ने निकेश पटेल, भारत बिहार जिल्ला मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर निवासी छप्कैया बस्दै आएका सपन मण्डल,  भारत बिहार घर भई पर्साकाे छप्कैया बस्ने होटल व्यावसायी बक्सर भन्ने नाजिर हुसैन र पर्साका छप्कैया निवासी होटल व्यावसायी बाबर हुसैन रहेका छन् ।


पुस २२ गतेका दिन दिउँसाे ३ बजे मियाँकाे शव वीरगञ्ज २३ इटियाही स्थित नारायणी बयाेधा अस्पतालकाे पछाडि खाली चाैरमा रगतले लतपतिएकाे र चाेटपटक लागेकाे अवस्थामा फेला परेकाे थियाे । पुस २२ गते नै पक्राउ परेका आराेपीहरूलाई बिहीवार जिल्ला प्रहरी कार्यालय पर्साले एक पत्रकार सम्मेलन आयाेजना गरी  सार्वजनिक गरेकाे छ । घटनामा संलग्न ४ र मतियारसहित ६ जना आराेपी मध्ये ५ पक्राउ परेकाे र एक जना फरार रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

आवश्यक अनुसन्धानका क्रममा पक्राउ परेकाहरू मध्ये दुई जनामाथि ९ दिनकाे म्याद थप गरिएकाे जानकारीसमेत उनले दिए । घटनास्थलबाट मृतककाे अटाे, घटनामा प्रयाेग गरिएकाे फलामकाे रिन्च, रगत लागेकाे अभियुक्तकाे ज्याकेट, जुता लगायतका सामाग्री बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । घटना बारे जानकारी दिँदै प्रवक्ता खनालले भने, 'एउटै घरमा डेरा भाडा लिई मृतक मियाँ र आराेपित सपन मण्डल बस्दै आएका थिए।' घटनाकाे केही दिन अघि दुवै जनाबीच झगडा भएकाे थियाे, त्याे रिसिबीका कारण मण्डलले नजिकै बस्दै आएका सुनिलकुमारलाई ई-रिक्सा किनि दिनेसहित ५० हजार रूपैया नगद दिने भनी सुपारी दिइएकाे प्रहरीकाे अनुसन्धानबाट खुलेकाे छ ।

याेजना अनुसार सुनिलले निकेशसहित दुईजना साथीलाई लगाएर मुख्तारलाई डिलेभरी केस छ भनी ई-रिक्सा भाडामा लिएर घटनास्थलसम्म लगेर फलामे रिन्चले हानेर हत्या गरेकाे थियाे । घटनामा संलग्न प्रमुख आराेपी एक जना अझै फरार रहेकाे र उनकाे खाेजी कार्य भइरहेकाे प्रवक्ता खनालले बताए । हाेटल व्यवसायी बाबर र बक्सरले मृतककाे ई-रिक्सा लुकाउन आराेपीहरूकाे सहयाेग गरी मतियारकाे काम गरेकाे प्रहरीकाे भनाइ छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x