अपराध

५ जिल्लाबाट लागूऔषध कारोबारी समातिए

इकागज |
पुस ३०, २०७८ शुक्रबार १२:५५ बजे

काठमाडौं– अवैध रूपमा लागूऔषध ओसारपसार गर्नेहरू पक्राउ परेका छन्। पछिल्लो २४ घण्टामा देशभका ५ जिल्लाबाट लागूऔषध कारोबार गर्नेहरू प्रहरी फन्दामा परेका हुन् ।

उनीहरू अवैध लागूऔषधसहित समातिएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार झापा, दमक नगरपालिका–२ हुम्से–दुम्से सामुदायिक जंगलबाट अवैध लागूऔषध गाँजा १२ किलो र चरेस ६ ग्राम २ सय ६० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरूमा ईलाम माईसेबुङ गाउँपालिका–२ बस्ने ३२ वर्षीय दिपेन्द्र राई र सोही ठाउँ बस्ने १९ वर्षीय नुवसन मुखिया रहेका छन् । प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरीलाई देख्नासाथ मे.३ प ५६६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरु भागेपछि तत्काल नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी झापाकै दमक नगरपालिका–३ बेलडाँगी शिबिर बस्ने २३ वर्षीय राजन तामाङलाई ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कास्की, पोखरा महागनरपालिका–१ भैरब चोकबाट नियन्त्रित लागूऔषध १ सय २१ एम्पुल डाइजेपाम, १ सय २१ एम्पुल फेनारगन र १ सय २१ एम्पुल नर्फिन सहित सोही महानगरपालिका–९ न्यूरोड बस्ने १९ वर्षीय रोहित बिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै, भक्तपुर नगरपालिका–५ खसी बजारबाट करिब ५६ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका भेलुखेल बस्ने ३७ वर्षीय लक्ष्मी नारायण देउलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.५३ प ७८२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

बर्दियास्थित बढैयाताल गाउँपालिका–७ कर्णाली पुलबाट करिब ७ ग्राम ४ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बाँके कोहलपुर नगरपालिका–५ बस्ने ३० वर्षीय तुलाराम शर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको रा.१ प ८४५६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक शर्मालाई पक्राउ गरेको हो । 

धनगढी उपमहानगरपालिका–२ बाट १ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय सन्त शाह र २७ वर्षीय बसन्त ओली रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो। 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 


Author

थप समाचार
x