अपराध

ठगी कसूरका प्रतिवादी पक्राउ

इकागज |
माघ ३, २०७८ सोमबार १८:३६ बजे

काठमाडौं– ठगी कसूरका फरार प्रतिवादी दाङ घोराही उपमहानगरपालिका–१५ लालीगुराँस टोलका ४१ वर्षीय विकास पुनलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

ठगी कसूर अन्तर्गत मुद्दा दर्ता भई फरार रहेका विकास काठमाडौंका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।


काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित होटल भ्यू ग्लोबलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। साथै उनले प्रयोग गर्दै आएको प्रदेश ३–०१–०२२ च ०११८ नम्बरको गाडीसमेत प्रहरीले बरामद गरेको छ ।

विभिन्न समयमा ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना, डाँका चोरी र कुटपिट कसूरमा समेत संलग्न रहेको खुल्न आएका उनलाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाईएको उक्त ब्यूरोले जनाएको छ ।
 


Author

थप समाचार
x