अपराध

गृहमन्त्रीको त्यो अभिव्‍यक्‍ति र भागरथीको यो हत्याकाण्‍ड...

नवराज पनेरु |
माघ २५, २०७७ आइतबार १२:३४ बजे

धनगढी : ०७६ साउन पहिलो साता गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्‍चनपुरकी किशोरी निर्मला पन्त प्रकरणमा भनेका थिए, ‘यस किसिमका अपराध नयाँ र पहिलो होइन । निर्मला प्रकरणहरू यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं ।’ 

पत्रकार सम्मेलनमा थापाले अगाडि भनेका थिए, ‘यो घटनामा गृह नै जोडिएको छ, अपराधीलाई बचाउन खोजियो भनेर राजनीतिकरण गर्नु दुःखद हो ।’ ०७५ साउनमा कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएकोमा गृहमन्त्रालयले दोषी जोगाउन भूमिका खेलेको आरोप लागेपछि गृहमन्त्री थापाको यस्तो अभिव्यक्ति आएको थियो । अहिलेसम्म निर्मलाका दोषी पक्राउ परेका छैनन् ।


निर्मला हत्याकाण्डको साढे दुई वर्षपछि बैतडीमा १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ । गृहमन्त्रीले नै ‘निर्मला प्रकरण पहिलो होइन, भोलि पनि रहन्छ’ भनेपछि त्यसकै उपजको रूपमा अहिले भागरथीको बलात्कारपछि हत्या भएको टिप्पणी हुन थालेको छ । 

पत्रकार दीपक जोशी भन्छन्, ‘निर्मला पन्तको जस्तै घटना हिजो पनि थिए, आज पनि छन् र भोलि पनि रहिरहनेछन् भन्ने गृहमन्त्री थापाले भागरथी हत्या प्रकरणको जिम्मा लिनुपर्छ । गृहमन्त्रीले अपराध हुन्छन् र भइरहन्छन् भनेर अपराधीको मनोबल बढाउने होइन् ।’ 

भागरथीका परिवारका सदस्यहरूले बलात्कारपछि विभत्स हत्या भएकाले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । भागरथीकी आमा दुराले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएको घटना सम्झँदै भनिन्, ‘हत्यामा संलग्नलाई पक्राउ गरेर कडा कारबाही गर्नुपर्छ ।’

बुधबार विद्यालय गएकी १७ वर्षीया भागरथीको शव बिहीबार विभत्स अवस्थामा फेला परेको थियो । परिवार र आफन्त उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेका छन् । उक्त घटनाको अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेय र सीआईबीका डिएसपीको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । सीआईबीबाट निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुर पुगेका डीएसपी पञ्चकुमार बाखुको टोलीलाई नै भागरथीको मृत्युको छानबिनमा पनि खटाइएको छ । 

अनुसन्धानमा संलग्न अधिकारीहरूले घटनास्थलबाट मोबाइलसहित फेला परेका प्रमाणले अपराधीको नजिक पुगाएको बताएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ट उपरीक्षक मुकेश सिंहले अपराधमा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने दाबी गरे । ‘भागरथीको शव फेला परेको दिनदेखि नै हामी संवेदनशील भएर अनुसन्धानमा लागेका छौं,’ उनले भने, ‘दोषीलाई छिट्टै कारबाहीको दायरामा ल्याइनेछ ।’
 


Author

थप समाचार
x