अपराध

बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा भेटियो

सुभाष कर्ण |
चैत १२, २०७७ बिहीबार १४:५९ बजे

जनकपुरधाम : बेपत्ता भएका महोत्तरीको झा दम्पतीको शव एक महिनापछि फेला परेको छ । जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर २ अतरार गाउँमा बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटना स्थलमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो दुबैको टोली पुगेका छन् । पिपराबाट अतरार जाने बाटो निर्माण भइरहेको क्रममा डोजरले माटो खन्ने क्रममा बोरामा बाँधिएको अवस्थामा मानव कंकाल सहितको पुरुषको शव निस्केको थियो । उनीहरू माघ १० गते घरमा सुतिरहेकै अवस्था बेपत्ता भएका थिए ।

वरिपरि गन्ध आएपछि शव हुन आशंकामा बाटो निर्माणमा काम गर्ने मजदूरहरुले प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा प्रहरी पुगेर बोरा खोलेर हेर्दा पुरुषको टाउको काटिएको अवस्थामा देखिएपछि पुनः प्रहरी र स्थानीयको सहयोगमा माटो खन्दा महिलाको शव पनि भेटिएको प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले बताए ।


हत्या भएको धेरै समय भइसकेको कारण शव गलिसकेको कारण यकिन हुन सकेको छैन शवलाई फोरोन्सिक ल्याबमा शव पठाएपछि त्यहाँबाटै मात्रै पुष्टि हुन सक्छ । तर घटनाको प्रकृति र झा दम्पतिका आफन्तले दाबी गरे अनुसार मुसाफिर र गीता देवीकै शव हुन सक्ने उनले बताए । झा दम्पतिको हत्या आरोपमा प्रहरीले एक भारतीय नागरिक सहित ४ जनालाई आइतबार नै पक्राउ गरिसकेको छ ।

प्रहरीले पिपरा गाउंपालिका ५ सहोडवा निवासी रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र यादव र भारतीय नागरिक बिहार राज्यको मधुबनी जिल्ला तरैया ग्राम पंचायतका हरेन्द्र ठाकुर पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता भएका दम्पतीको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआइबीले अनुसन्धान थालेको २ दिन नबित्दै चारै जनालाई घटनामा संलग्न रहेको आशंकामा तिनीहरुलाई पक्राउ गरिएको थियो ।

अभियुक्त मध्येका रामबाबुसँग झा दम्पतिबीच जग्गा सम्बन्धी विवादले पटक पटक झै झग्डा भएको र घटनास्थलमा वेपता दम्पतिको कोठादेखि रामबाबुको घरसम्म र उनको घरको गेटमा रगतको छिटा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियाे । जग्गा विवादका कारण झा दम्पतिको हत्या भएको र आरोपितहरुले कसूर स्वीकार गरिसकेको प्रहरीको दाबी छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x