बुटवल सुनचोरी घटना : भारतीय योजनाकारसहित तीन जना पक्राउ
भैरहवा – गत साता बुटवलमा भएको सुन चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सिसी क्यामरा फुटेज, मोबाइल ट्रेक र आधारकार्डलगायतको मद्दतले घटना भएको १३औं दिनमा सफलता पाएको हो । वैशाख १३ गते बुटवलको विपीचोक स्थित गुल्मेलस् मजुवा सुनचाँदी पसलबाट लकर काटेर सुन चोरी भएको थियो ।
व्यावसायिक चोरहरूले योजनाबद्ध तरिकाले पसल लुट्ने उद्देश्यका साथसँगै रहेको पसल भाडामा लिएर फेन्सी पसल गर्ने भनी सर्तमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । एक वर्ष बस्ने गरी अग्रिम भाडा तीन लाख ६० हजार भुक्तानी दिएका उनीहरूलाई प्रहरीले सोमबार साँझ साढे ५ बजे लुम्बिनीको खुनगाईबाट सवारी साधना चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
भारतीय गाडीमा सवार मोहसिन अब्दुललाह, मोहद जीशन खान र मोहममद सरिकबाट पहेँलो सुन जस्तो देखिने सुन सिक्का, बिस्कुट सय ग्राम ६६ मिलिग्रामसहित मोबाइल, भारु रुपैयाँ, आधार कार्ड र एटिएम कार्डसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
घटनामा पक्राउ परेका ३६ वर्षीय मोहसिन भारत जौहरी मोहल्ला चोक लखनउ, मुख्य योजनाकार ३५ वर्षीय मोहद भारत साइ एन्कलेव गोमती कालोनी लखनउ र २२ वर्षीय सरिक लखनउकै निशान्त गन्जमा बस्दै आएका थिए ।
छेउकै सटर भाडामा लिएर योजनाबद्ध तरिकाले सोमबार बिदाको दिनमा घटना घटाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले १३ दिनमै उपलब्धि हासिल गरेको छ । दुई किलो ग्रामभन्दा बढी सुन चोरी भएको घटनाको थप अनुसन्धान भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया