समीक्षा

‘अउरोरा’ : शरणार्थी मुद्दाको पृष्ठभूमिमा एउटा प्रेमकथा

सामीप्यराज तिमल्सेना |
भदौ ३१, २०७८ बिहीबार १५:३४ बजे

के तिमी मसँग विवाह गर्छौ ? 

मैले तिमीसँग किन विवाह गर्ने ?


किनकि मसँग दुइटा मात्र उपाय छ, कि मर्नु कि विवाह गर्नु । म मर्न चाहँन्न किनकि मैले कसैका लागि बाँच्नु छ ।

नेभर ! 

यो वार्तालाप हो २० वर्षीया फिनिस तौली अउरोसा रुइकाका र इरानियन शरणार्थी डारियनको । फिनल्यान्डको ल्यापल्यान्ड सहरको हट डग स्टयान्डमा भेटको दोस्रो दिनमै डारियनले अरोरालाई विवाहको प्रस्ताव राख्छ । पहिलो पटक भेट हुँदा त दुवैबीच बोलचाल पनि भएको हुन्न । डारियनलाई हट डग किन्न २० सेन्ट नपुगेपछि किचकिच गरिरहेको साहुलाई मुख टाल्न अउरोराले डारियनको भागको २० सेन्ट तिरिदिएकी हुन्छे ।

तर यतिबेला डारियनले धन्यवादबाहेक केही भन्न सकेको हुन्न । दोस्रो पटक उही ठाउँमा भेट्दा भने डारियनले अउरोराको २० सेन्ट मात्र फिर्ता गर्दैन, सिधै विवाहको प्रस्ताव पनि राख्छ । तर, अउरोरा यस्ती हुन्छे कि विवाह त के उसलाई कसैसँग रिलेसनसिपमा बस्न पनि डर लाग्ने रोग छ । यसको असर के छ भने ब्वाइफ्रेन्डले उसलाई रिलेसनसिपमा बस्न अस्वीकार गरेकै कारण नांगेझार भएकै अवस्थामा घरबाहिर निकाल्छ । 

एउटा विवाह गर्न आतुर डारियन अनि अर्को  र प्रेम वा विवाह दुवैको बन्धनमा बस्नै नचाहने अउरोरा । पूर्व–पश्चिम स्वभाव भएका दुई चरित्रको गन्तव्य कहाँ होला ? यही जिज्ञासाको कथा हो फिनिस फिल्म ‘अउरोरा’ । 

कमिटमेन्टसँग डराउने र जँड्याहा अउरोरा डारियनको विवाह गर्ने हत्तेमा सकारात्मक बन्छे जब उसले डारियनको ८ वर्षीय छोरोलाई भेट्छे । यही क्रममा उसले थाहा पाउँछे इरानबाट लुक्दै फिनल्यान्ड आइपुगेको डारियन यसकारण फिनिस युवतीसँग विवाह गर्न चाहान्छ ताकि फिनिस सरकारले उसलाई देश निकाला नगरोस् । फिनिस कानुनअनुसार शरणार्थीले स्वदेशी नागरिकसँग विवाह गरे मात्र पनि देशमा बस्न पाउने वैधता पाउँछन् । 

नङ काट्ने पेसामा फिटिक्कै रमाउन नसकेकी अउरोरा डारियनको दुःखमा सहानुभूतिशील बन्छे र आफैँ विवाह गर्न नसके पनि डारियनका लागि दुलही खोज्ने अभिभारा आफ्नो काँधमा लिन्छे । योसँगै सुरु हुन्छ सिनेमामा डारियनका लागि दुलही खोज्ने शृंखला । 

क्विट मोन्टाजमा आउने यस्ता दुलही तपाईले थुप्रै हिन्दी फिल्ममा देख्नु भएको छ । अक्षयकुमार र कट्रिना कैफको ‘नमस्ते लन्डन’मा पनि दुलही खोज्ने शृंखलाको रोचक सिन देख्न सकिन्छ । तर यो फिल्ममा हद के छ भने विचरा डारियन विवाह गर्ने मामलामा यो हदसम्म लाचार छ कि उसले भरे–भोलि भइसकेकी वृद्धासँग पनि विवाहका लागि तयार हुन्छ । तर, विडम्बना विवाहका लागि बाटोमा गइरहँदा गाडीमा नै वृद्धाको  मृत्यु हुन्छ । विवाह गरेर फिनिस बन्ने सपना देखेको डारियन झण्डै वृद्धाको ज्यान लिएको अभियोगमा जेलमा सड्छ । 

फिल्म अगाडि बढ्दै जाँदा अउरोरा एक अर्कासँग नजिक हुँदै जान्छन् तर अउरोराको गन्तव्य सुरुदेखि नै फरक हुँदा उनीहरूको मिलनविन्दु भने देखिन्न ।  
यता नङ चिटिक्क बनाउने कामबाट खासै काम बनाउन नसकेकी अउरोरा धेरै कमाउने आसमा नर्वे जाने तयारीमा हुन्छ । उता डारियनको त विवाह गरेर छोरीको भविष्य सुनिश्चित गर्ने दौड त छँदैछ ।

एकातिर अउरोरा छे जो फिनल्यान्डमा भविष्य नदेखेर नर्वे पलायन हुन खोजिरहेकी छे अनि अर्कोतिर डारियन छ जो फिनल्यान्डमा भविष्य बनाउन खोजिरहेको छ । यी दुवैको यात्रा कहाँ पुगेर टुंगिएला ? फिल्मले यही प्रश्नको अनुमान योग्य अन्त्यसँगै बिट मारेको छ । 

‘अउरोरा’ मूलतः अउरोराको कथा हो र यही धर्म निर्वाह गर्दै फिल्म उनकै वरिपरि घुम्छ । एक तहमा हेर्दा यो फिल्म प्रेम कथा हो । तर, प्रेमकथासँगै फिल्मले साना सहरको कथा, शरणार्थी समस्या, असाइलम लिन शरणार्थीले भोग्नु पर्ने चुनौती र शरणार्थीलाई हामीले गर्नुपर्ने मानवीय व्यवहारको कुरालाई राम्ररी प्रस्तुत गरेको छ । 

शरणार्थीलाई फिनिस डाक्टरले घरमा आश्रय दिएको कुरादेखि लिएर अउरोराले डारियनलाई मद्दत गर्न चाहेको आदि दृश्यबाट फिनल्यान्ड शरणार्थी समस्यामा संवेदनशील रहेको सन्देश दिन खोजेको छ । 

खुशी भन्ने कुरा सापेक्ष हुन्छ । कसलाई के कुराले खुशी दिन्छ त कसैलाई केले ? जस्तो कि हामी नेपाली युरोप वा अमेरिकामा ‘सेटल’ हुन पाए जिन्दगी बन्ने थियौ भन्ने सपना देखेर मौका पाएसम्म पलायन हुने मौका ताकेर बसेका छौँ । तर, युरोपकै नागरिक अर्को कुनै देश ताकेर बसेका छन् ।

तर, ठाउँभन्दा पनि मन जहाँ बस्छ खुशी त्यहाँ छ । फिल्मले जाँदाजाँदै दर्शकमा यस्तो सन्देश पनि छाड्न खोजेको अभिप्राय देखिन्छ । दुनियाँका हजारौँ फिल्मले भने झैं यो फिल्मले पनि यही भन्छ, ‘दुनियाँमा प्रेमभन्दा ठूलो खुशी केही छैन ।’ 

अउरोराको रुपमा मिमोसा विलियामोले उत्कृष्ट काम गरेका छन् भने डारियनको रूपमा इरानबाट आएर फिनल्यान्डमा फिल्म निर्देशन गरेका आमिर इसकान्द्री पनि शरणार्थीको रुपमा विश्वसनीय लाग्छन् । मिमोसाका चरित्रमा धेरै पटक हामी सन् २००१ को फ्रेन्च फिल्म ‘एमिली’की आउड्र जस्टिन टुटुको झल्को देख्न सक्छौँ । उनले आधुनिक, पार्टी लभर तर जिम्मेवारी युवतीको भूमिकामा जीवन्त अभिनय गरेकी छिन् । निर्देशक आमिर इसकान्द्रीले भने यही फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् । 

फिनिस फिल्म फाउन्डेसनको आर्थिक सहयोगमा सन् २०१९ मा बनेको यो फिल्म गोटेबर्ग फिल्म फेस्टिभलको ओपनिङ फिल्मको रूपमा वर्ल्ड  प्रिमियर भएको थियो । पछि यो एडिनबर्ग फिल्म फेस्टिभल आदिमा पनि छनोट भएको थियो । 

‘अउरोरा’को कथा एकदमै विशिष्ट छैन तर कलाकारको अभिनय र लोकेसनको सही छनौटले फिल्मलाई हेरुन्जेल रमाइलो बनाएको छ । हिउँले भरिएको ल्यापल्यान्ड र कठिन भूगोलका कारण हुने अवसरका कमीलाई पनि फिल्मले कथ्यमा राम्ररी उनको छ । तर, अरुसँगै प्रेमकथामा शरणार्थाी समस्यालाई लेखक र निर्देशकले जसरी बुनेका छन् त्यसले फिल्मलाई रोचक बनाएको छ । 

विश्वका धेरै फेस्टिभल घुमेको यो फिल्म नेपालमा भने ९ दिनसम्म चल्ने नेपाल युरोपियन फिल्म फेस्टिभल (नियुफ)को दसौँ फेस्टिभलमा युरोपबाट छानिएका १० युरोपियन फिल्ममध्ये एक फिल्मको रुपमा प्रदर्शन हुँदैछ । निःशुल्क सहभागी हुन पाइने यो फेस्टिभलमा ‘अउरोरा’ जस्ता १० युरोपियन फिल्म र ५ नेपाली फिल्म प्रदर्शन हुँदैछन् । फेस्टिभल भोलि शुक्रबारबाट सुरु भएर ९ दिनसम्म भर्चुअल रूपमा चल्नेछ । 


 


 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x